लता मंगेशकरको गायनको सम्मान गर्दै धेरैले भन्ने गर्थे, 'उनको स्वरमा सरस्वतीको बास छ।'
यति मात्र होइन, बलिउडमा धेरैले लता मंगेशकरलाई 'माँ सरस्वती' पनि भन्ने गर्छन्।
संयोग नै भनौं, स्वर साम्राज्ञी लता मंगेशकरको निधन आइतबार सरस्वती पूजाकै दिन भयो। उनी ९२ वर्षकी थिइन्।
बलिउडमा सात दशकदेखि फरक-फरक पुस्ताका अभिनेत्रीहरूका लागि स्वर दिएकी लताले ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन्। तीमध्ये एउटा भाषा नेपाली पनि हो।
उनले गाएका नेपाली गीत 'जुन माटोमा मेरो', 'आकाशको मिर्मिरे तारा म गन्न सक्दिनँ' र 'बाँचुन्जेलीलाई' हुन्।
नेपाली सिनेमाको सुरूआती चरणमा 'माइतीघर' फिल्ममा स्वर दिएकी लताले आफ्नी बहिनी आशा भोसलेजति धेरै नेपाली गीत गाइनन्। यसको अर्थ लताको स्वरमा नेपाली गीत रेकर्ड गराउने प्रयास नै नभएको भने होइन।
लताका हिन्दी गीत सुनेर प्रेरणा लिएका कयौं नेपाली संगीतकार तथा गायकमा लतासँग काम गर्ने रहर थियो। त्यस्तो रहर गर्नेमा शम्भुजीत बाँस्कोटा पनि एक थिए।
रहर हुँदाहुँदै र थुप्रैचोटि प्रयास गर्दागर्दै पनि विभिन्न कारणले सम्भव नभएको शम्भुजीत बताउँछन्।
भारतका दर्जनौं चर्चित गायकलाई नेपाली गीतमा स्वर दिन मनाएका शम्भुजीतले आइतबार लता मंगेशकरको निधनको खबरमा दु:ख प्रकट गर्दै सेतोपाटीसँग भने, 'मैले दुईवटा फिल्ममा लता मंगेशकरकै लागि भनेर गीत कम्पोज गरेको थिएँ। उहाँसँग काम गर्ने रहर थियो। प्रयास पनि गरियो तर सम्भव भएन।'
शम्भुजीतले लताका लागि भनेर कम्पोज गरेका गीत 'चेलीबेटी' र 'प्रेमपिण्ड' फिल्मका हुन्।
यी दुवै फिल्मका गीत गाउन लगाउने भनेर उनले लतासँग सम्पर्क पनि गरे। दुवैचोटि साइत जुरेन, शम्भुजीतले भने, 'एकपटक उहाँ लन्डन जानुभएको बेला पर्यो। अर्कोपटक सम्पर्क गर्दा उहाँ अस्वस्थ हुनुहुन्थ्यो।'
उनका अनुसार चेलीबेटीको 'तिम्रो आँखाको सागर' गीत लता मंगेशकर र नारायण गोपालका लागि कम्पोज गरिएको थियो। पछि यो गीत आशा भोसले र प्रकाश श्रेष्ठले गाए।
चेलीबेटी फिल्मकै अर्को गीत 'एउटा मान्छे मन पर्छ बोल्न सक्दिनँ' पनि शम्भुजीतले लताकै लागि भनेर बनाएका थिए। यो गीत पनि अन्तिममा लताकी बहिनी आशाले गाइन्।
त्यस्तै, प्रेमपिण्ड फिल्ममा लतालाई सम्झेर कम्पोज गरिएको गीत 'सपना हो यो भनेदेखि सपनीमै मरूँ' थियो। शम्भुजीतले यो गीत पनि लता र नारायण गोपाललाई सँगै गाउन लगाउने योजना बनाएका थिए। प्रयास असफल भएपछि लताको सट्टा अनुराधा पौडवाल र नारायण गोपालको सट्टा भुपेन्द्र सिंहले गाएका थिए।
गीत गाउन प्रस्ताव गर्ने सन्दर्भमा आफू बम्बईस्थित लताको घर प्रभु कुञ्जसमेत पुगेको शम्भुजीत सम्झन्छन्।
'हामी लताजीलाई भेटेर गीत गाउन प्रस्ताव गर्ने भनेर थोरै समयका लागि बम्बई गएका थियौं। उहाँले दिएको समयसम्म कुर्न सकेनौं,' उनले भने, 'उहाँसँग काम गर्ने सपना सपनै रह्यो।'
शम्भुजीत एकपटकमै हार मान्ने स्वभावका थिएनन्। उनी लतासँग सांगीतिक सहकार्य गर्ने सपना पूरा गर्न अवसर खोजिरहन्थे।
'विजय पराजय' फिल्मका गीत रेकर्डिङ सिलसिलामा शम्भुजीतले मुम्बईको दादरस्थित बम्बई ल्याब स्टुडियोमा लतालाई भेट्ने मौका पाए। त्यति बेला अर्की भारतीय गायिका कविता कृष्णमूर्तिले शम्भुजीतको संगीतमा गीत रेकर्ड गराउँदै थिइन्।
'लताजीले त्यो गीत सुनेर मलाई खोज्नुभएछ,' शम्भुजीतले भने, 'त्यहाँको साउन्डम्यान मलाई खोज्दै आए र लताजीले बोलाउनुभएको छ भनेर भने।'
शम्भुजीत उत्साहित हुँदै साउन्डम्यानलाई पछ्याउँदै लतालाई भेट्न गए।
'मैले लताजीसँग रिहर्सल रूममा बसेर करिब एक घन्टा कुराकानी गर्ने मौका पाएँ। जिन्दगीमा उहाँसँग सहकार्य गर्न नपाए पनि उहाँसँगको त्यो एक घन्टाको भेटघाट मेरो निम्ति अमूल्य छ,' उनले भने, 'यदि त्यो भेट नभइदिएको भए मलाई उहाँसँग काम गर्न नपाएकोमा खेद हुने थियो। त्यो दिनको भेटमा उहाँले मेरो गीत सुन्नुभयो। मलाई आशीर्वाद दिनुभयो। म धन्य भएँ।'
उक्त भेटमा लताले शम्भुजीतलाई सोधेकी थिइन्, 'तपाईं नेपालबाट आउनुभएको हो?'
शम्भुजीतले 'हो' भने।
त्यसपछि लताले भनिन्, 'मैले नेपाल नरेशको गाना गाएको छु।'
लताले गाएका नेपाली गीतहरू 'जुन माटोमा मेरो' र 'आकाशको मिर्मिरे तारा म गन्न सक्दिनँ' राजा महेन्द्रकै रचना हुन्। पहिलोमा जयदेव र दोस्रोमा हेमन्त कुमारको संगीत छ।
'उहाँप्रति मेरो अथाह श्रद्धा छ। संसारले मानेको गायिकासँग भेट्न पाएको त्यो क्षण म नर्भस भएको थिएँ। त्यस भेटमा संगीतबाहेक लताले नेपालको प्राकृतिक सौन्दर्यको बयान गर्दै पशुपतिनाथ दर्शन गर्न नेपाल आउने चाहना व्यक्त गर्नुभएकाे थियाे,' शम्भुजीतले भने।
उनले थपे, 'उहाँले घरबाटै चिया र समोसा ल्याउनुभएको थियो जुन मलाई पनि खान दिनुभयो। पुनाबाट लताजीकी फुपूकी छोरी स्नेहलता पनि आएकी थिइन्। लताजीले नै फोटो खिचौं भन्नुभयो। मैले क्यामरा छैन दिदी भनेँ। उहाँले स्नेहलतालाई हामी दुई जनाको फोटो खिच्न लगाउनुभयो र मलाई पठाइदिन भन्नुभयो।'
मुम्बईमा गीत रेकर्ड गराएपछि शम्भुजीत जसै नेपाल फर्किए, उनको घरमा एउटा पार्सल आइपुग्यो।
त्यो पार्सलमा लता मंगेशकरसँग खिचाएको फोटो थियो।
शम्भुजीतको त्यो चिरस्मरणीय तस्बिरमा लता मात्र देखिँदैनन्, भित्तामा झुन्ड्याइएको सरस्वतीको फोटो पनि कैद छ।
'आज सरस्वती पूजाकै दिन उहाँको निधन भएको सुन्दा अचम्म लाग्यो,' शम्भुजीले भने, 'यो पनि गज्जबको संयोग नै हो।'
यो पनि हेर्नुहोस्: