नेपाली समाजभित्रका विभिन्न समुदायले घरेलु हिंसा, सामाजिक हिंसा, प्राकृतिक प्रकोप, आर्थिक समस्या, द्वन्द्वदेखि प्राकृतिक प्रकोपसम्मका समस्यालाई आ-आफ्नै हिसाबले भोग्दै आएका छन्।
यस्ता तमाम समस्याले महिलाको जीवनमा पार्ने जोखिम बुझ्न समस्याका अनेक आयाम खोतल्नु पर्ने हुन्छ। यो काममा दृश्य विधाले अन्य विधाभन्दा प्रभावकारी भूमिका खेल्न सक्ने विश्वास गरिन्छ। यही विश्वासले श्रव्य-दृश्य विधामार्फत् महिलाको जीवनका खास पक्ष उजागर गर्ने प्रयास निरन्तर भइरहेका छन्।
नेपाली सिनेमा र वृत्तचित्र (डकुमेन्ट्री) मा महिलाको विषय केन्द्रमा राखेर कथा भन्ने काममा 'अकाउन्टाबिलिटी ल्याब' ले 'ओनियन फिल्म्स' सँगको सहकार्यमा विगत केही वर्षदेखि अकाउन्टाबिलिटी फिल्म स्कुल सञ्चालन गरिरहेको छ। यो सहकार्यमा सन् २०१७ देखि 'हर स्टोरी थिम' मा तीन चरण गरी सत्र वटा छोटा फिल्म र डकुमेन्ट्री निर्माण भएका छन्।
फिल्म निर्माणका मुख्य सबै काममा महिला युवा नेतृत्वलाई जोड दिइएको यो काममा हालसम्म ५७ जना 'फिल्म मेकर' जोडिइसकेका छन्।
यस पटकको सूचीमा हामीले तिनै महिला फिल्म मेकरका ११ छोटा फिल्म र डकुमेन्ट्री समेटेका छौं। यी फिल्म र डकुमेन्ट्रीमा महिला फिल्म मेकरले फरक भूगोल र भिन्न क्षेत्रका महिलाका कथा समेटेका छन्। महिलाका दृष्टिकोणबाट महिलाकै कथा भनिएकाले उनीहरूका भोगाइ र प्राथमिकता नजिकबाट बुझ्न यी फिल्म र डकुमेन्ट्री सहयोगी छन्।
महिनावारी, वैदेशिक रोजागरी, दश वर्षे माओवादी सशस्त्र युद्ध, एसिड आक्रमण, बलात्कार, लैंगिक पहिचान र विभेदलगायत महत्वपूर्ण विषय केन्द्रमा राखिएका यी कथाले केही प्रेरणा र प्रश्न छाडेर जान्छन्। छुटेका, छुटाइएका, बिर्सेका, बिर्साइएका महिलाका जल्दाबल्दा मुद्दाबारे एक पटक फेरि घोत्लिने अवसर दिन्छन्।
छोटा फिल्महरू
फगुनिया, निर्देशक: सरिता शाह
आफन्तबाटै हुने यौन हिंसाका धेरैजसो घटना सकेसम्म घरभित्रै सुल्झाउने प्रयास गरिन्छ। परिवारको 'इज्जत बचाउन' गरिने यस्ता निर्णयले पीडित न्यायबाट वञ्चित हुन्छन्। पीडकले फेरि अर्को गल्ती गर्दै जान्छ। फगुनियाको घरमा यस्तै भएको छ। फगुनियाकी नाबालक छोरीलाई उनका काका जगदिशले बलात्कार गर्छन्।
सानी छोरीको बलात्कारले आहत बनेकी फगुनियाको चित्त त्यति बेला झनै दुख्छ जब उनका श्रीमानले यो घटना हुनुमा उनैलाई दोषी भन्छन्। त्यसमाथि ससुराले यो घटना बाहिर नजाओस् भन्ने चाहन्छन्।
तर छोरीमाथि भएको अन्यायविरुद्ध कानुनी उपचार चाहने फगुनिया घरभित्रका पुरुषको निर्णयबाट खुसी छैनन्।
गम्भीर विषयसँगै रंगमञ्चमा सक्रिय सरिताको निर्देशन राम्रो छ नै, मुख्य पात्र फगुनियाको भूमिकामा पनि उनी जमेकी छिन्। मधेसका महिलाको समस्याको चित्रण गर्ने यो फिल्म मैथिली भाषामा छ।
यसमा सरिताबाहेक जानबी गुप्ता, मदन ठाकुर, धीरज ठाकुर, सुजिता ठाकुर, प्रीति झा आदि कलाकारको अभिनय छ। सरिताको निर्देशन र पटकथाको 'फगुनिया' रन्जन उमाकृषन र सुजिता शाहको सहायक निर्देशनमा तयार भएको हो।
छलाङ, निर्देशक: मीरा गुरुङ र पत्रिका घिमिरे
सात वर्षपछि विदेशबाट श्रीमान शंकर फर्कने दिनमा पनि गौरी उदास छन्। मनको विरह पोख्न उनी जंगलमा पात बजाउँदै समय काट्छिन्। मनमा नानाभाँतीका कुरा खेलाउँछिन्। सामान्य अवस्थामा श्रीमान घर फर्केको भए गौरीको खुसी र उत्साहको सीमा हुन्थेन होला।
तर एउटा हात काटिएर घर फर्केका शंकरप्रति गौरीमा सहानुभूति छैन। बरू, मनैमन आक्रोशित छन्। शंकरसँग उनका केही गुनासो छन्। केही प्रश्न छन्। तिनै गुनासा र प्रश्नले घेरिएकी गौरी शंकरलाई तनमनबाट श्रीमानका रूपमा स्वीकार्ने कि नस्वीकार्ने भन्ने दुबिधामा पुगिसकेकी छन्।
'छलाङ' मा गौरीको यो दुबिधा मार्मिक रूपमा देखाइएको छ। फिल्ममा रूखमा अल्झिएर च्यातिएको चंगा र गौरीको अवस्थाबीच प्रतीकात्मक सम्बन्ध छ। वैदेशिक रोजगारीमा गएका परिवारको वैवाहिक सम्बन्ध र त्यसमा विद्यमान लैंगिक विभेदको चित्रण गर्ने यो फिल्मको मुख्य पात्र गौरीको भूमिकामा निर्देशक पत्रिका घिमिरेले अभिनय गरेकी छन्। गौरीको चरित्र मार्फत दुबिधा र उकुसमुकुस महशुस गराउन पत्रिकाले राम्रो प्रयास गरेकी छन्।
पत्रिका घिमिरेको लेखनको 'छलाङ'मा संगीता शर्मा बस्याल, परिक्षित विक्रम राणा, अंशु शर्मा र विजय नेपालको अभिनय छ। परिक्षित विक्रम राणा र अंशु शर्मा फिल्मका सहायक निर्देशक हुन्।
धर्को, निर्देशकः पवित्रा खड्का
विदेश गएर परिवारको जीवन सहज बनाउने सपना देख्ने धेरैमध्ये ताराकी आमा पनि एक थिइन्। तर उनलाई विदेश लैजाने दलालले एक ठाउँ भनेर गैरकानुनी रूपमा अर्कै देशमा पठाइदिन्छन्। काम गर्ने ठाउँमा पाएको बारम्बारको यातना ताराकी आमाले सहन सक्दिनन् र प्राण त्याग्छिन्। गैरकानुनी रूपमा विदेश पुगेकाले उनका श्रीमानले लास देख्न पाउने सम्भावना पनि कमजोर छ।
'धर्को' फिल्ममा विदेशमा आमाको मृत्यु हुने उनै ताराको परिवारको कथा छ। तारा हरेक दिन आमा आउने दिन कुर्दै कमेरोले पोतेको भित्तामा धर्को कोर्छिन्। उनका भाइ पनि आमा आएपछि यसो गर्ने र उसो गर्ने योजना बुन्दै बस्छन्। आमा बिना समय काट्ने बालबालिकाको मनोविज्ञानको समेत चित्रण गर्ने 'धर्को'मा साना दिदीभाइबीच रमाइला संवाद पनि छन्।
फिल्ममा शैलेन्द्र थेबे, मनांग लावती, मन्जु गिरी, रदिप लामिछाने, रुपा बिसी, वर्षा रेग्मी लगायतको मुख्य अभिनय छ। धादिङकी ताराकी आमा विदेश गएर ज्यान गुमाउने धेरै नेपालीमध्येकी एक प्रतिनिधि पात्र हुन्।
वेदना, निर्देशकः प्राधान्या योञ्जन
एसएलसीमा डिस्टिंक्सन, विदेशमा अध्ययन र कामको अनुभव पनि भएकी रितालाई जागिरको खाँचो छ। परिवारको असहमति हुँदाहुँदै प्रेम विवाह गरेकी रिता सम्बन्ध विच्छेदको संघारमा पुगिसकेकी छन्।
अर्कोतिर, उनी गर्भवती भएको पहिलो महिना चल्दैछ। योग्य र अनुभवी भए पनि रितामा आमा बन्न लागेकी युवतीलाई काम दिन्छन् कि दिन्नन् भन्ने चिन्ता छ। 'वेदना' फिल्मले यही चिन्ता महिलाकै कोणबाट देखाएको छ।
रिताको मुख्य भूमिकामा दिप्ती पौडेलको अभिनय छ। यसबाहेक वेदनामा सुस्मित श्रेष्ठ, मयंक श्रेष्ठ, विकास शर्मा, अच्युत खनाल, सबिना लामिछाने आदिको अभिनय छ।
दुर्गा, निर्देशकः लुनिभा बज्राचार्य
दशमीको दिन टीका लगाउन उत्साहित दुर्गा रजस्वला भएपछि दुःखी बन्छिन्। श्रीमानको घरको टीकासँगै माइत गएर हजुरआमाको टीका थाप्ने उनको चाहनामा अवरोध आउँछ।
सुरूमा निराश भए पनि एकाएक उनी टीका लगाउने उपाय फुराउँछिन्। उनको उपाय के होला?
फिल्मले यही कुरा रमाइलो शैलीमा देखाएको छ। मुख्य पात्रको भावनात्मक उतारचढाव प्रज्ञा ढकालको स्वभाविक अभिनयमा प्रतिविम्बित भएको छ। धेरै गृहिणीको दैनिकीसँग जोडिएको यो कथालाई फिल्म पृष्ठभूमि संगीतले थप रोचक बनाएको छ।
डकुमेन्ट्रीहरू
अन्डरनिथ सेक्सन १९३, निर्देशकः सजना श्रेष्ठ
एसिड आक्रमणकारीलाई सजाय तोक्नेबारे कानुनमा स्पष्ट उल्लेख छैन। यही रिक्तताका कारण एसिड आक्रमणजस्तो जघन्य अपराध गर्नेहरू पनि केही वर्ष जेल बसेर फेरि बाहिर निस्कने अवस्था छ। जबकी एसिड छ्यापिएकाहरू भने जिन्दगीभर त्यसको दाग र पीडा सहन बाध्य छन्।
संगीता मगर र जेनी खड्का यस्ता प्रतिनिधि हुन् जसले यो अन्याय भोगिरहेका छन्।
'अन्डरनिथ सेक्सन १९३' डकुमेन्ट्रीले पीडितले जीवनभर र पीडकलाई केही वर्षमात्र सजाय मिल्ने असमान कानुनमा सुधार ल्याउन जोड दिइएको छ।
यसका लागि अभियन्ता, वकिल र स्वयं पीडितहरू संगीता र जेनीलाई पात्र बनाइएको छ। यो डकुमेन्ट्रीले संगीता र जेनीले जीवन फेरि सहज बनाउन गरेका प्रयास पनि देखाउँछ।
बन्दुकदेखि कोदालोसम्म, निर्देशक: सृजना श्रेष्ठ र स्नेहा श्रेष्ठ
तीन वर्षमा 'जनवादी' क्रान्ति सम्पन्न गर्ने सपना बोकेर माओवादी जनयुद्धमा होमिएकी थिइन्, रिता मानुषी। तर समयको एउटा विन्दुमा पुगेपछि उनले बन्दुक छोडेर कोदालो समातिन्।
युद्धको मोर्चा होस् वा माटोको मैदान, रिता श्रम र संघर्ष मन पराउँथिन्। त्यसैले कृषि व्यवसायमा पनि उनले राम्रो सफलता हासिल गरिन्। यो डकुमेन्ट्री उनै रिताको फरक यात्रा र सफलताको कथा हो।
एक समय काठमाडौंमा कुनै आधार नभएकी उनले छ रोपनी जग्गा बैंकबाट लिजमा लिएर यो पेसामा हात हालेकी हुन्। हाल ललितपुरको लामाटारमा एउटा कृषक समूह चलाउने उनको समूहमा तीसजना भन्दा बढी कृषक छन्, जसमा महिला संख्या उल्लेख्य छ।
उनीहरूले वार्षिक पाँचदेखि पचास लाखसम्म गोलभेँडा बेच्छन्। डकुमेन्ट्रीमा उनको व्यक्तित्वबारे बुझाउन रितासँग नजिक रहेर काम गने पात्रसँग पनि कुराकानी गरिएको छ।
पहिचान, निर्देशकः यजश्वी राई
आफ्नो घरको पुरुष सदस्यका रूपमा छोरा भएर जन्मे पनि रुक्साना कपालीमा छोरीको गुण हुन्छ। तर यो प्राकृतिक गुणलाई आत्मसात गरेर बाँच्न उनका लागि विद्यालय, आफन्तजन र समाजको वातावरण सहज हुँदैन।
छ-सात कक्षा पुग्दा उनले कपाल काट्न नचाहँदा विद्यालयमा कुटाइसमेत खानु पर्छ। प्लस टु पढ्ने क्रममा आफ्नो पहिचान नखुलाउँदा केही सहज भए पनि स्नातक तहमा पुगेपछि भने उनले नीतिगत विभेद नै झेल्नु पर्छ।
त्रिभुवन विश्वविद्यालयमा रेजिस्ट्रेसन गर्ने बेला आफ्नो पहिचानकै कारण उनले झमेला बेहोर्नु पर्छ।
लैगिंक पहिचान र अल्पसंख्यकको समस्या चित्रण गर्ने यो डकुमेन्ट्रीले रुक्सानाले झेलेका अनेक विभेदकारी अनुभव चित्रण गर्दै नीतिगत सुधार र सामाजिक दृष्टिकोणमा सुधार गर्नुपर्ने कुरामा जोड दिन्छ।
अ बोनस लाइफ, निर्देशकः नीमा गिरी
आर्थिक अभाव र अशिक्षाको मारमा परेका नेपालका धेरै गाउँका बालबालिका भारतका सर्कस समूहमा प्रयोग हुँदै आएका छन्। यसरी भारत पुर्याइने बालबालिकामाथि प्रशस्तै श्रम शोषण हुने गरेको छ।
यसबाहेक तीमध्ये धेरै भारतबाट फर्कंदा विभिन्न रोग बोकेर फर्कन बाध्य हुनु अर्को समस्या हो। परिवारका लागि अर्थ आर्जन गर्ने उनीहरू धेरैले नेपाल फर्केपछि भने आफन्तबाट समेत तिरस्कार भोग्नु पर्छ।
मकवानपुरकी उमा घिमिरे पनि तिनैमध्येकी एक हुन्, जो नेपाल फर्कंदा एचआइभी एड्सकी रोगी थिइन्। यही कारण उनलाई घरबाट निकालिएको थियो।
तर उनले यस्ता तीता अनुभवबाट हार नमानी आफूलाई समाजमा स्थापित गर्न निरन्तर संघर्ष गरिन्। आज उमा धेरैका लागि प्रेरणाकी श्रोत बनेकी छन्। कहालीलाग्दो संकटबाट कसरी प्रेरणाको उदाहरण बन्ने कथा थाहा पाउन 'अ बोनस लाइफ' हेर्नु होला।
६,७३४ काउन्ट माइ नम्बर, निर्देशकः श्रृष्टि जोशी
नेपालको संविधान २०७२ ले महिला तथा सीमान्तकृत वर्गको सशक्तीकरणलाई जोड दिएको छ। यही मान्यतामा आधारित भई स्थानीय निकायको निर्वाचनमा दलित महिला कोटालाई प्राथमिकता दिइएको थियो।
यही प्रावधानअनुसार स्थानीय निर्वाचनपछि केही मधेसी दलित महिलाले वडा सदस्यका रूपमा आफ्नो प्रतिनित्वि जनाउने अवसर पाए। तर वडा सदस्यका रूपमा चुनिएकी प्रतिनिधिमा निर्णय गर्ने अधिकार सीमित भएकोले उनीहरूमध्ये धेरैमा असन्तुष्टि देखिन्छ।
'६,७३४ काउन्ट माइ नम्बर' डकुमेन्ट्रीमा जनकपुर उपमहानगरपालिका वडा नम्बर-९ की जसोधिया पासवानमार्फत् त्यही असन्तुष्टिलाई मुख्य विषय बनाइएको छ।
यस डकुमेन्ट्रीमा जसोधियामार्फत उनले प्रतिनिधित्व गर्ने ठाउँमा विद्यमान खानेपानी, सरसफाइ लगायत समस्या हल गर्न कसरी वडाध्यक्षहरूको उपेक्षा कारक बनिरहेको छ भनेर देखाइएको छ।
डकुमेन्ट्रीले सम्बन्धित पक्षको प्रयासका बावजुद निर्णायक तहमा भएका प्रतिनिधिले गर्दा काम गर्न कठिनाइ भइरहेको अवस्था चित्रण गर्छ र समावेशीको अवधारणा अझ व्यवहारमै लागू गर्न माथिल्लो तहको नेतृत्व गम्भीर बन्नुपर्ने आवश्यकतामा जोड दिन्छ।
पिरियड, निर्देशकः रेवती गुरुङ
सोलुखुम्बुको थुप्तेन छोलिंग गुम्बामा तिब्बती शरणार्थीको बाहुल्य छ। करिब चार सय पचास जना बस्ने यो गुम्बामा धेरै महिला छन्। 'पिरियड' मा यही गुम्बामा भएका महिलाको महिनावारी सम्बन्धी भोगाइलाई मुख्य विषय बनाइएको छ।
उनीहरूको कथासँगै बौद्ध धर्म र महिनावारी सम्बन्धी दृष्टिकोण र अभ्यास फिल्मले उजागर गर्छ। समयसँगै महिनावारीबारे बुझाइ र अभ्यासमा आएका परिवर्तनको कुरा पनि बुझ्न सघाउँछ। हिमाली भेगमा अवस्थित गुम्बाका विभिन्न गतिविधि समेटिएको यो डकुमेन्ट्रीको 'भिजुअल' सुन्दर छ।