गुड फ्राइडे सिनेमा
पोहोर, आजकै दिन (अप्रिल २९) बलिउड अभिनेता इरफान खानको निधन भयो। ५३ वर्षीय इरफानको निधनले भारतीय मात्र होइन, संसारका धेरै देशका दर्शकलाई स्तब्ध बनायो।
'सुपरस्टार' नभनिए पनि इरफान धेरै प्रशंसकका नजरमा उदाउँदा 'स्टार' थिए। टेलिश्रृंखलादेखि बलिउड-हलिउड फिल्म, जापानी मिनी–सिरिजसम्म उनले आफ्नो दमदार अभिनय देखाएर दर्शकको मन जिते।
उनलाई २०१८ मार्चमा न्यूरो–एन्डोक्राइन ट्युमर भएको थियो। लामो समय बेलायतमा उपचार गराएर केही महिनाअघि मात्र भारत फर्केका थिए। ठूलो आन्द्रामा संक्रमण भएपछि उनको निधन भयो।
इरफानको निधन यस्तो बेला भयो, जब उनी आफ्नो करिअरको उत्कर्षमा पुगिसकेका थिएनन्, तर जिन्दगीले अल्पायुमै साथ नछाडेको भए उनी त्यो मुकामसम्म पुग्न सक्थे।
भारतीय सिनेमामा उनलाई यस्तो अभिनेताका रूपमा याद गरिनेछ, जो सानो भूमिका समातेर पर्दामा आए, र ठूल्ठूला भूमिकावालाहरूलाई मात खुवाए। उनको परिचयसँग उनले खेलेको पात्रको लम्बाइ कहिल्यै जोडिएन। भूमिका जतिसुकै छोटो होस्, उनी आफ्नो अभिनयबाट पात्रको वजन बढाइदिन्थे। कुनै–कुनै फिल्म त उनकै कारणले पनि चर्चामा आयो, भलै त्यसमा उनको भूमिका सह–अभिनेताकै किन नहोस्।
यी अभिनेताले नब्बे दशकमै केही फिल्म खेलेका थिए। त्यसअघि लामो समय दुरदर्शनका टेलिभिजन शृंखलाहरूमा सानोतिनो भूमिका गरे। तर, बलिउडमा उनको साख जम्यो, सन् २००० को प्रारम्भबाट। त्यसयता उनले खेलेका फिल्म धेरै फिल्म दर्शक र समीक्षक दुवैले उत्तिकै मन पराए। क्यान्सरले थला नपारेको भए हिन्दी सिनेमामा उनको उम्दा करिअर स्थापित हुने थियो।
इरफानको जन्म सन् १९६७ जनवरी ७ मा राजस्थानको टोंकमा भएको थियो। उनको खास नाम शाहेबजादे इरफान अली खान हो। मध्यमवर्गीय परिवारमा जन्मेका इरफान सुरूदेखि फिल्ममा अभिनय गर्न चाहन्थे।
उनले राजस्थान विश्वविद्यालयमा दुई वर्ष ड्रामाटिक आर्टस् पढे। कोर्स सकिएपछि १९८४ मा दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामामा भर्ना भए। त्यति बेलाका समकक्षीहरू इरफानलाई लजालु र शान्त स्वभावको व्यक्तिका रूपमा सम्झन्छन्, जसको अन्तर्यमा अभिनयको नशा भरिएको थियो।
समकक्षीहरूका अनुसार, उनी जिन्दगीका हरेक चुनौती खुला आँखाले सामना गर्थे। त्यहाँ पढ्दादेखि नै उनमा एउटै महत्वाकांक्षा थियो- उनी मुम्बई जान चाहन्थे र बलिउड फिल्म खेल्न चाहन्थे।
उनले त्यति बेला केही हिन्दी फिल्ममा सानोतिनो भूमिका गरे। पहिलो फिल्म थियो, सन् १९८८ मा रिलिज मीरा नायरको 'सलाम बम्बे'। यसमा चिठी लेख्ने व्यक्तिको भूमिका निर्वाह गरेका उनको एउटा मात्र दृश्य थियो। फिल्मले खुब चर्चा पायो। भारतबाट ओस्कार अवार्डमा मनोनीत पनि भयो। इरफानलाई भने कसैले सम्झेनन्।
फिल्ममा सानोतिनो भूमिका गर्दा इरफानले मुम्बईमा आफ्नो जिन्दगी चलाउन सानो पर्दाको सहारा लिए। उनले त्यति बेला थुप्रै टेलिभिजन शृंखलाहरूमा काम गरेका थिए। तिनमा 'भारत एक खोज', 'जजीरा' र 'पिता' प्रमुख छन्। यसबाहेक 'चाणक्य', 'चन्द्रकान्ता' र 'बनेगी अपनी बात' (१९९५) मा पनि उनले यादगार भूमिका गरेका छन्। 'चन्द्रकान्ता' हेरेर हुर्केका पुस्ताले उनलाई 'बद्रीनाथ–सोमनाथ' का रूपमा सम्झे।
नब्बे दशक कलात्मक सिनेमाको युग हो। व्यावसायिक रूपले खासै नचल्ने यस्ता सिनेमालाई राज्यले नै प्रवर्द्धन गरेका हुन्थे। बलिउडमा इरफानको प्रवेश यस्तै कलात्मक फिल्मबाट भयो। सुरूआती दिनमा उनले खासै ठूलो भूमिका पाएनन्। 'सलाम बम्बे' मा जस्तै त्यसपछिका थुप्रै फिल्ममा उनको उपस्थिति एकाध दृश्य र संवादमा सीमित रह्यो। ती फिल्महरू जतिसुकै चर्चित भए पनि इरफानलाई विरलै याद गरिन्छ।
जस्तो, 'कमलाकी मौत'। यसमा उनी एक अविश्वासिलो प्रेमीको भूमिकामा छन्। फिल्मको एक दृश्यमा उनी आफ्नी प्रेमिकालाई ठूल्ठूला आँखाले हेर्छन्। त्यही हेराइ पछि गएर इरफानको 'ब्रान्ड' का रूपमा स्थापित भयो। 'दृष्टि' मा शंकालु प्रेमीको भूमिकामा निर्वाह गरेका उनका ठूल्ठूला आँखाबाट सधैं आगो बर्सिरहन्छ। उनको आँखाको त्यही आगोले कालान्तरमा अभिनयको नयाँ आयाम स्थापित गर्यो।
उनी बाल फिल्महरू तथा अफबिट ड्रामामा पनि सानो भूमिकामा देखिए। सुरूआती दिनमा इरफानलाई आफ्नो खुबी देखाउने ठूलो मञ्च दिएको थियो 'एक डाक्टरकी मौत' ले। पत्रकार बनेका उनको भूमिका खासै लामो थिएन, तर वजनदार थियो।
बलिउडमा आफ्नो करिअर जमाउन लामो संघर्ष गर्दा पनि सफलता हात नपरेपछि इरफानले आफ्नो नाउँको अक्षर फेरे। उनको नाउँमा पहिले एउटा मात्र 'आर' थियो, सन् २००३ पछि उनले दुइटा 'आर' लेख्न थाले।
संयोगले २००० दशकको प्रारम्भदेखि नै इरफानको करिअरले नयाँ मोड लियो — उनले पहिलेभन्दा लामो र दमदार भूमिका पाउन थाले। करिअरको यो विन्दुसम्म आइपुग्दा इरफानले नयाँ रणनीति लिए। आफ्नो अभिनय र आम्दानी दुवै सँगसँगै अघि बढाए। उम्दा अभिनय गरेर समीक्षकको आँखामा पर्न कलात्मक फिल्महरू खेले, सँगसँगै मुम्बईमा सहज जीवनयापन र दर्शकको मनमा बस्न 'मसालेदार' व्यावसायिक फिल्म खेले।
यही दशकमा रिलिज 'द वारियर' मा इरफानको भूमिकालाई दर्शक र समीक्षक दुवैले सराहना गरे। यसपछि 'गुनाह' मा इरफानको संवाद 'गेट नेकेड बेबी!' एकदमै चर्चित थियो। सन् २००३ मा 'हासिल' मा इरफान खलनायकको भूमिकामा थिए। इरफानको अभिनयको सर्वत्र वाहवाही भयो।
त्यही वर्ष रिलिज भएको 'मकबूल' इरफानको करिअरमा यादगार फिल्म बन्यो। यसपछि सन् २००४ मा उनी 'चरस' मा देखिए। यसमा इरफान प्रहरी अधिकृतको भूमिकामा छन्, जो पछि लागुऔषधका डिलर बन्छन्।
धेरै समीक्षकहरू २००७ लाई इरफानको उत्कृष्ट वर्षका रूपमा लिन्छन्, 'लाइफ ... इन अ मेट्रो' रिलिज भएको वर्ष। यो सुपरहिट फिल्ममा इरफानको अभिनय धेरैले मन पराए। यसै वर्षबाट उनको हलिउड यात्रा पनि सुरू भयो। अघिल्लो वर्षको 'नेमसेक' बाटै इरफानले हलिउडमा आफ्नो अभिनयको चर्चा फैलाइसकेका थिए। सन् २००७ उनले लगातार तीनवटा हलिउड फिल्ममा काम गरे– 'द वारिअर', 'द दार्जिलिङ लिमिटेड' र 'अ माइटी हार्ट'।
पाकिस्तानमा धार्मिक कट्टरपन्थीहरूद्वारा मारिएका वाल स्ट्रिट जर्नलका पत्रकार डेनिअल पर्लमाथि बनेको 'अ माइटी हार्ट' मा इरफानले स्थानीय अनुसन्धान अधिकृतको भूमिका गरेका थिए। उक्त फिल्मले इरफानलाई अन्तर्राष्ट्रिय प्रसिद्धि दिलायो।
इरफानले करिअरकै उम्दा फिल्म सन् २०१२ मा दिए– पानसिंह तोमर। डाकु बनेका पूर्व भारतीय सैनिक तथा धावक पानसिंह तोमरको जीवनगाथामा आधारित यो सिनेमालाई बलिउडकै एक अब्बल खेलकुद सिनेमाको कोटीमा राखिन्छ।
यसरी आफ्नो करिअर–ग्राफमा विस्तारै माथि उक्लिरहेका इरफानले केही ठूला बलिउड फिल्ममा पनि काम गरे। तीमध्ये 'हैदर' र निखिल आडवाणीको 'डी–डे' प्रमुख हुन्। करिअरको उत्कर्षमा लम्किरहेका बेला पनि उनले आफ्नो पुरानो रणनीति छाडेनन्। कलात्मक र व्यावसायिक दुवै खालका सिनेमामा सँगसँगै काम गरे। 'किस्सा' र 'द सङ अफ स्कोर्पियन्स' यसैका उदाहरण हुन्।
'तलवार', 'पिकू', 'करिब करिब सिंगल', 'कारवांजस्ता फिल्ममा उनको अभिनय स्मरणीय छ। उनको अन्तिम फिल्म सन् २०१८ को 'अंग्रेजी मिडियम' हो।
यसबीच उनी हलिउडमा समेत भारतको प्रतिनिधित्व गर्ने अब्बल अभिनेताका रूपमा चिनिए। उनले सन् २००८ को ओस्कार विजेता 'स्लमडग मिलेनियर' देखि 'द अमेजिङ स्पाइडरम्यान', 'लाइफ अफ पाई', 'जुरासिक वर्ल्ड' र 'इन्फर्नो' मा काम गरे। यसबाहके एचबिओ टेलिभिजनको शृंखला 'इन ट्रिटमेन्ट' को तेस्रो सिजन र जापानको मिनी–सिरिज 'टोकियो ट्रायल' मा पनि महत्वपूर्ण भूमिकामा देखिए।
एकपछि अर्को हिट फिल्म दिइरहेका बेला, हलिउडमा पनि नाम कमाइरहेका बेला, अचानक इरफानको जिन्दगीमा अवरोध बनेर आयो, उनको स्वास्थ्य। हरेक चुनौती आँखा खोलेर सामना गर्ने इरफान मृत्युको चुनौतीमा भने पराजित भए। त्यो पनि यस्तो समयमा, जब उनी आफ्नो करिअरको उत्कर्षमा पुगिसकेका थिएनन्। उनको रफ्तार हेर्दा, जिन्दगीले अल्पायुमै साथ नछाडेको भए उनी त्यो मुकामसम्म पुग्न सक्थे।
उनी फिल्मी दुनियाँको त्यो मुकाममा सायद पुगेनन्, दर्शकको मनमा भने उनले त्योभन्दा धेरै माथिको मुकाममा पुगेर सम्झना साँच्न सफल भएका छन्।
आज गुड फ्राइडे सिनेमामा उनै इरफानको सम्झनामा उनको करिअरकै उम्दा फिल्म 'पानसिंह तोमर' सिफारिस गरेका छौं।
वास्तविक पात्रकै कहानीमा बनेको यो बायोपिकमा एउटा कलाकार आफ्नो चरित्रमा कतिसम्म डुब्नसक्छ भन्ने उदाहरण बनेका छन् इरफान। पर्दामा पानसिंह तोमरलाई जीवन्त बनाएका कारण उनले निकै प्रशंसा पाए। फिल्म फेयरदेखि नेसनल अवार्डसम्म दिलाउने यो इरफानको करिअरकै महत्वपूर्ण फिल्म हो।
सैनिक सेवामा काम गरेको, दौडका धावक खेलाडी बदलाको आगोमा डाकु भएपछि उनको जीवन कसरी फेरिन्छ, फिल्मको कथा यही वरिपरि घुमेको छ।
हेर्नुहोस् फिल्मः