गुड फ्राइडे सिनेमा
सडकमा दुर्घटनापछि झगडा हुँदै छ। जाममा परेका आलिया मलिक र उनका श्रीमान नोमान मलिक कारभित्र बसेर रमाइलो गफ गर्दै छन्। पेसाले पत्रकार उनीहरू दुवै जीवन र काममा खुसी देखिन्छन्।
पाकिस्तानको कराँची सडकमा उनीहरूको खुसी पनि दुर्घटनामा पर्छ। जाममा परेकै बेला नोमानको गोली हानी हत्या हुन्छ।
उनको हत्यारा पत्ता लाग्दैन। आलिया एक्लो पर्छिन्। केही समयपछि उनले नोमानको जस्तै अर्का व्यक्तिको हत्या भएको भिडिओ देख्छिन्। उनी उक्त भिडिओ लिएर प्रहरीकहाँ पुग्छिन्। आफ्ना श्रीमानको हत्यारा तिनै हुन सक्ने जिकिर गर्छिन्। प्रहरीले उनलाई प्रमाण नभइ केही गर्न नसकिने भन्दै फिर्ता पठाइदिन्छन्।
आलियालाई चित्त बुझ्दैन। उनी श्रीमानका हत्यारालाई पत्ता लगाउनै चाहन्छिन्। कति प्रयास गर्दा पनि सफल हुन्नन्। कसैले उनलाई साथ दिँदैन। न प्रहरीले, न प्रशासनले, न अरूले।
यहीबीच उनको भेट कराँचीमा संघर्ष गरिरहेका अदिलसँग हुन्छ। उनी बुवासँग बस्छन् र कराँचीमा गुजारा चलाउन साहुको ट्याक्सी चलाउँछन्।
उनको दुबई जाने सपना छ। दुबई जाने पैसा जोहो गर्न उनी गलत काम पनि गर्छन्। आफ्ना साथीहरूसँग मिलेर आफ्नै ट्याक्सीका यात्रु लुट्छन्। कतिसम्म भने एकदिन आफ्नो ट्याक्सी नै लुट्ने योजना बनाउँछन्।
त्यही योजना फत्ते गर्ने दिन आलिया अदिलको ट्याक्सी चढ्छिन्। त्यो दिन बीच सडकमा भएको घटनाले ट्याक्सी लुट्ने योजना सफल हुँदैन।
तर त्यही घटनाले अदिल र आलियालाई सँगै हिँडाउँछ। अदिलले आलियालाई उनका श्रीमानको हत्यारा खोज्न मद्दत गर्ने भन्छन्। यसवापत् उनी आलियासँग पैसा माग्छन्।
अब उनीहरू दुवै बेग्लाबेग्लै मग्सदले एकै बाटोमा हिँड्छन्। उनीहरू दुवैको प्रस्ट योजना हुन्छ, अदिलले नोमानका हत्यारा खोज्न सहयोग गर्ने, आलियाले पैसा दिने।
काम भएपछि दुवैको उद्देश्य पूरा हुन्थ्यो। उनीहरूले सोचेजस्तो सहज भने हुँदैन। यो यात्रामा यी दुईले अकल्पनीय घटनाहरू सामना गर्नुपर्छ।
नोमानको हत्यारा खोज्ने यात्रा क्रममा आलिया र अदिलको अरू व्यक्तिसँग पनि भेट हुन्छ। जसमा प्रहरी इन्सपेक्टर इब्राहिम मुख्य छन्।
दैनिकजसो हत्या हुने कराँची सहरमा के आलियाले नोमानका हत्यारा पत्ता लाउन सक्लिन्? के अदिलको दुबई जाने सपना पूरा होला? कि उनीहरू झन् खतरनाक खाल्डोमा पर्छन्?
यसका निम्ति रहस्यमयी थ्रिलर पाकिस्तानी फिल्म 'लाल कबुतर' हेर्नुहोला।
लाल कबुतर कराँची सहरमा हुने सानादेखि ठूला अपराधसम्मको झलक दिने फिल्म हो। यसको कथा रहस्यमयी ढंगले अगाडि बढ्छ। हेरून्जेल दर्शकलाई धुकचुक बनाइराख्छ।
कमाल खानद्वारा निर्देशित लाल कबुतरलाई पाकिस्तानले सन् २०२० को अस्करमा पठाएको थियो। मनोनयनमा भने परेन। फिल्मले समीक्षकहरूबाट एकदमै राम्रो प्रतिक्रिया पाएको थियो।
पाकिस्तानको मौलिक कथा र वास्तविक झल्को दिने फिल्म हेर्न चाहनेका लागि लाल कबुतर उत्कृष्ट रोजाइ हो। अझ थ्रिलर फिल्म मनपराउनेलाई यसले कत्ति पनि निराश पार्दैन।
आज गुड फ्राइडे सिनेमामा हामीले तपाईंहरूलाई यही फिल्म सिफारिस गरेका छौं।
हेर्नुहोस् युट्युबमा