एसएस राजमौलीको फिल्म 'आरआरआर' को नयाँ गीत 'नाचो नाचो' उर्फ 'नाटु नाटु' ले यसपालि अस्कर अवार्ड जितेको छ। उत्कृष्ट गीतको अस्कर जित्ने यो पहिलो भारतीय गीत हो।
तेलेगु स्टारद्वय रामचरण र एनटिआरबीच छायांकन गरिएको यो गीत प्रेम रक्षितको कोरिओग्राफीमा बनेको हो। यसको 'फुटस्टेप' बाट धेरै जना आकर्षित भएका थिए र हुने क्रम जारी छ। यो गीतले गोल्डेन ग्लोब अवार्ड पनि जितेको थियो।
फिल्म रिलिज नहुँदै टिकटक र अरू सामाजिक सञ्जालमा कभर डान्स बनाउनेहरूबीच रामचरण र एनटिआरको फुटस्टेपसँग तालमेल मिलाउने प्रतिस्पर्धा नै चलेको थियो।
यो प्रतिस्पर्धामा नेपालका दुई किशोर अरूभन्दा धेरै अघि देखिए।
तेलेगु भर्सनमा वीरगन्जका अभय चौधरी र आयुष चौधरीले कभर भिडिओ बनाएर सार्वजनिक गरेका थिए। भिडिओमा उनीहरूले रामचरण-एनटिआर जोडीको डान्स र आफ्नो डान्स सँगसँगै राखेका छन्। उनीहरूले डान्स स्टेप सिक्न चाहनेका लागि कभर भिडिओ पनि बनाएका छन्। 'नाटु नाटु ट्युटोरियल' नाम दिइएको यो भिडिओले अहिलेसम्म एक करोड ५० लाख भ्युज काटिसकेको छ।
एमएम किरवानीको संगीतमा बनेको नाटु नाटुमा आधारित उनीहरूको कभर भिडिओलाई चर्चित भारतीय कलाकार र डान्सरले समेत सेयर गरेका थिए। उनीहरूको कभर भिडिओ 'आरआरआर' फिल्मको आधिकारिक ट्विटर ह्यान्डलबाट समेत ट्विट भइसकेको छ।
कभर भिडिओ बनाएर भाइरल बनेका यी नेपाली दाजुभाइ को हुन्?
अभय र आयुष 'ए-स्क्वायर क्रू' नामबाट चिनिन्छन्। नाटु नाटुको भिडिओ ए-स्क्वायरले यही नामको आफ्नो युट्युब च्यानलमा राखेको छ।
युट्युब च्यानलको नाम अभय र आयुषको पहिलो अक्षर जोडेर बनाइएको उनीहरूका बुबा ओम चौधरीले बताए, 'ए-स्क्वायरमा डान्सलाई बुझाउने शब्द 'क्रू' थपेर युट्युब च्यानलको नाम जुराइएको हो।'
मुख्य रूपमा तेलेगु अनि हिन्दी र तमिल भाषामा समेत रिलिज हुने 'आरआरआर' को नाटु नाटु हिन्दीमा 'नाचो नाचो' र तमिलमा 'नाट कोथु' का रूपमा सार्वजनिक भएको छ। कम समयमा युट्युबमा बढी भ्युजको रेकर्ड बनाएको यो गीतमा सयौं कभर भिडिओ बनेका छन्। तीमध्ये ए-स्क्वायरको भिडिओले विशेष चर्चा पाउनुमा अभय र आयुष जोडीको पृष्ठभूमि पनि जोडिन्छ।
'नाइ मलाई थाहा छैन' गीतको कभर डान्सर विजेता बनेपछि बिस्तारै उनीहरूले चर्चा बटुल्न थालेका हुन्।
यो जोडी सन् २०१८ मा भारतीय रियालिटी सो 'डान्स प्लस' को चौथो संस्करणमा सहभागी भएर नेपालसँगै भारत र अन्य देशका दर्शकमाझ चर्चित बनेको थियो। उनीहरू 'डान्स प्लस' को अन्तिम ३० सम्म पुग्न सफल भएका थिए।
अभय र आयुष डान्सरका रूपमा चर्चित हुनुमा उनका बुबा ओम चौधरीको विशेष भूमिका छ। ओम आफैं राम्रो नाच्छन्। अभय र आयुषले सोमबार मात्रै नाटु नाटुमा आफ्नो बुबासँग नाचेको भिडिओ टिकटकमा हालेका छन्। यो भिडिओले पनि ६३ हजारभन्दा बढीको लाइक पाइसकेको छ।
युट्युबमा झन्डै आठ लाख फलोअर्स भएको यो जोडी टिकटकमा पनि सक्रिय छ। उनीहरूले बनाएको नाटु नाटुको टिकटक १३ लाखभन्दा बढीले लाइक गरिसकेका छन्।
ओम नै अभय र आयुषका डान्स प्रशिक्षक हुन्। ओमका अनुसार दुवै दाजुभाइ सानै उमेरदेखि अनुशासित रूपमा अभ्यास गरेर यति राम्रो डान्सर बनेका हुन्।
अभय १६ वर्षका भए भने आयुष १२ वर्ष। अभय करिब ८ र आयुष ४ वर्षको उमेरदेखि नाच्न थालेका हुन्। उनीहरू अहिले पनि दैनिक घन्टौं अभ्यास गर्छन्।
ओमका अनुसार २०७२ को भुइँचालोपछि उनीहरूले नियमित अभ्यास गर्न थालेका हुन्। कोरोना महामारी र लकडाउनको समयमा उनीहरूले अरू बेलाभन्दा बढी अभ्यास गर्ने समय पाए। त्यसबीच उनीहरू बिहान तीन घन्टा र बेलुकी तीन घन्टा गरी दैनिक छ घन्टा अभ्यास गर्थे।
'अभय बिहान पढाइलाई समय दिन थालेका छन्। बिहान आयुषले एक्लै अभ्यास गर्छन् भने दुई-तीन घन्टासम्म दुवै जनालाई सँगै अभ्यास गराइरहेको छु,' ओमले भने।
भारतको रियालिटी सोमा सहभागी भइसकेका यी दुई भाइलाई आगामी दिनमा अरू प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्न नियमित अभ्यास गराइरहेको ओमले बताए।
ए-स्क्वायर क्रूको युट्युबमा नियमित राखिने भिडिओ यस्तै अभ्यास र प्रशिक्षण क्रममा तयार पारिने उनले जानकारी दिए। यस क्रममा कोरिओग्राफीदेखि सम्पादनसम्मको काम ओमले नै गरिरहेका छन्।
'उनीहरूले गर्ने हरेक प्रस्तुतिमा म आफैं जोडिएको छु। अभय र आयुषको प्रस्तुति मात्र होइन, उनीहरू भन्नु नै म पनि हुँ,' उनले भने।
अभय र आयुष पनि ए-स्क्वायर क्रूबाट युट्युब च्यानल र टिकटकमा राख्ने भिडिओ खिच्ने, अपलोड गर्ने र नाच्न सिकाउने सबै काम बुवाले गरिरहेको बताउँछन्।
'हामीलाई कुन गीतमा नाच्ने र भिडिओ बनाउने बुबाले नै भन्नुहुन्छ। त्यसपछि हामी आफ्नो सुझाव दिन्छौं,' अभयले भने।
यी दुई दाजुभाइलाई डान्ससँगै पढाइलाई समय दिनुपरेकोमा कुनै गुनासो छैन। न त उनीहरू दबाब नै महशुस गर्छन्। बरू पढाइ र नाचलाई सँगसँगै लैजान पाएकोमा रमाइरहेका छन्।
यति मात्र होइन, युट्युबमा नियमित अपलोड हुने भिडिओका कारण स्कुलका शिक्षकदेखि साथीहरूबाट समेत प्रशंसा सुन्न पाउँदा आयुष फुरूंग हुन्छन्।
'अहिले त जसले पनि नाटु नाटुको डान्स हेरेको थिएँ, कस्तो राम्रो लाग्यो भन्नुहुन्छ,' उनले भने।
उनीहरूले नाटु नाटुको कभर भिडिओमा प्राप्त दर्शकहरूको प्रतिक्रिया पनि खिचेका छन्। त्यो भिडिओमा दुवै जना वसन्तपुर लगायत काठमाडौंका सार्वजनिक स्थलमा रमाउँदै नाचिरहेको देख्न सकिन्छ।
यो जोडीलाई फ्यानहरूबाट फलानो गीतमा नाच्नुपर्यो भनेर अनुरोधसमेत आउँदो रहेछ। तर पढाइलाई समय दिनुपर्ने भएकाले सबैको मागअनुरूप भिडिओ बनाउन नभ्याएको ओमले बताए।
ए-स्क्वायर क्रूको युट्युब च्यानल सन् २०१७ बाट सुरू भएको हो। यहाँ अपलोड भएका धेरै भिडिओमा छोराहरूसँगै ओम पनि नाचिरहेका देखिन्छन्। पछिल्लो छ महिनायता उनीहरूको च्यानलमा हरेक महिना कम्तिमा पाँच/सातवटा भिडिओ अपलोड भएका छन्। उनीहरू आफ्ना भिडिओ इनडोर र आउटडोर छायांकन गर्छन्। नेपाली, हिन्दी र अंग्रेजी गीतहरूमा नाच्नेबाहेक यी दुई भाइ र उनका बुबाले रमाइलो गरिरहेका भिडिओसमेत च्यानलमा देखिन्छ।
सन् २०१८ मा उनीहरूले बनाएको भिडिओ 'नेपलिज ब्वाइज भर्सेस एलियन डान्स च्यालेन्ज' ले १० करोडभन्दा बढी भ्युज पाएको छ। यो च्यानलको सबभन्दा बढी रूचाइएको भिडिओ हो। उनीहरूको च्यानलमा नाटु नाटु गीतका पाँचवटा भन्दा धेरै भिडिओ अपलोड भइसकेका छन्।
'युट्युबमा भ्युज पाउने संख्या सधैं उस्तै हुँदैन। हिट हुँदा वा मान्छेको प्रतिक्रिया पाउँदा रमाइलो लाग्छ तर हाम्रो उद्देश्य भ्युज बढाउने खालका भिडिओ राख्नु होइन। भविष्यमा डान्स प्रतिस्पर्धाहरूमा राम्रो नतिजा ल्याउने गरी अनुशासन र मिहिनेतका साथ अभ्यास गर्नु नै मुख्य लक्ष्य हो,' ओमले भने।
ओम माइकल ज्याक्सन र रेमो डिसुजाजस्ता डान्सरबाट प्रभावित छन्। काठमाडौं, कालिमाटी बस्ने ३६ वर्षीय ओमको परिवारको मूलथलो वीरगन्ज, शंकर सरैया हो। वीरगन्जभन्दा काठमाडौंमा धेरै अवसर पाइने भन्दै छोराहरूको भविष्य राम्रो हुने सपना बोकेर करिब एक दशकअघि उनी काठमाडौं आएका हुन्।
छोराहरूले सोचेजस्तै प्रगति गरेको देख्दा उनी सन्तुष्ट छन्।
भन्छन्, 'दुई-चार वर्षको अभ्यासपछि उनीहरू अझै सशक्त प्रस्तुति दिन सक्ने हुनेछन्। त्यसैले म पनि उनीहरूसँगै मेहनत गरिरहेको छु।'
(नाटु नाटुले अस्कर जितेको अवसरमा यो स्टोरी हामीले पुनः अपडेट गरेका हौं।)