दुई दशकदेखि अभिनयमा सक्रिय कोनकोना सेन शर्मा भारतीय सिनेमाकी लोकप्रिय नाम हुन्।
हिन्दी, बंगाली र अंग्रेजी भाषाका सिनेमामा काम गर्ने उनी सन् २००२ मा अंग्रेजी भाषाको 'मिस्टर एन्ड मिसेस अय्यर' बाट चर्चामा आइन्।
तमिल ब्राह्मण महिलाको भूमिकामा गरेको जीवन्त अभिनयका लागि उनले यस फिल्मबाट 'नेसनल फिल्म अवार्ड' जितेकी थिइन्। बंगाली फिल्म 'एक जे अच्छे कन्या' बाट अभिनय सुरू गरेकी उनले त्यसअघि बालकलाकारका रूपमा केही फिल्ममा काम गरिसकेकी थिइन्।
सन् २००५ मा सार्वजनिक मधुर भण्डारकरको 'पेज थ्री' उनलाई बलिउडमा स्थापित गर्ने फिल्म हो। त्यसयता दर्जनौं फिल्ममा अभिनय गरेकी कोनकोनाले फरक-फरक भूमिकामा आफूलाई खरो साबित गर्दै आएकी छन्।
कोनकोनाले सिनेमा र कला पारिवारिक विरासतमै बोकेर आएकी हुन्। उनका हजुरबुबा चिदानन्द दासगुप्ता कलकत्ता फिल्म सोसाइटीका सह-संस्थापक थिए। कोनकोनाकी आमा अपर्णा सेन चर्चित अभिनेत्री र निर्देशक र बुबा मुकुल शर्मा लेखक-पत्रकार हुन्।
अंग्रेजी साहित्यको औपचारिक अध्ययन गरेकी कोनकोना अभिनयबाहेक लेखनमा समेत सक्रिय छिन्। फिल्म निर्देशकका रूपमा समेत आफूलाई अब्बल साबित गरिन्। कोनकोनाको पहिलो फिल्म 'अ डेथ इन द गन्ज' अलग शैलीको थ्रिलर फिल्म मानियो जसका लागि उनले उत्कृष्ट डेब्यु निर्देशकको अवार्ड पनि जितिन्।
उनको फिल्म 'पेज थ्री' ले तीन विधामा नेसनल अवार्ड जितेको छ।
पत्रकारिता र मनोरञ्जन क्षेत्रको चमकधमकभित्रको अँध्यारोलाई यथार्थपरक रूपमा देखाइएको यो फिल्ममा कोनकोना पत्रकार बनेकी छन्। फिल्ममा सन्ध्या मृदुल, बोमन इरानी, अतुल कुलकर्णी, तारा शर्मा लगायत धेरै कलाकारले अभिनय गरे पनि कोनकोनाको प्रमुख भूमिका छ।
माधवी (कोनकोना) पत्रिकाको 'पेज-थ्री' का लागि सूचना बटुल्छिन्।
पेज थ्री पत्रिकाको यस्तो पृष्ठ हो जसका लागि व्यापारी र कलाकारले पैसा खर्च गरेर त्यहाँ आफ्नो अनुहार र नाम छपाउँछन्। हरेक बिहान पेज थ्रीमा कसकाबारे के लेखियो भनेर विशेष चासो दिइन्छ।
मुम्बई सहरमा हरेक रात हुने अविराम पार्टीहरू माधवीका सूचना स्रोत हुन्। यी पार्टीमा कलाकार, व्यवसायी, प्रहरी, नेता, समाजसेवीका अनेक किस्सा थाहा भए पनि उनी विस्तारमा लेख्न सक्दिनन्।
बेलाबेला सम्पादकसँग झगडा गरे सबै विकृतिसँग लड्न सक्ने चमत्कारी पात्र होइनन् उनी।
उनी त एउटा सामान्य पत्रकार हुन् जसलाई पार्टीहरू मन नपरे पनि जानै पर्छ। दोहोरो चरित्रका मानिसहरूसँग सम्बन्ध गाँस्नै पर्छ।
यसर्थमा उनी पेज थ्रीको रंगीन पानामा छाउनेहरूको अँध्यारो पक्षको साक्षी मात्र हुन्।
तर उनीभित्र गम्भीर विषय लेखेर राम्रो पत्रकार बन्ने हुटहुटी छ। चमकधमकको दुनियाँभन्दा वास्तविकताको कथा उजागर गर्ने मन छ।
यही रनाहाले उनलाई प्रख्यात क्राइम रिपोर्टर विनायक माने (अतुल कुलकर्णी) सँग भेट गराउँछ। उनीहरूले सँगसँगै रिपोर्टिङ गर्ने क्रममा मुम्बईमा बम विस्फोट हुन्छ। घटना पछ्याउँदै जाँदा उनीहरूले यसको तार त्यही रंगीन 'पेज थ्री' को दुनियाँसँग जोडिएको पाउँछन्।
के उनीहरूले पेज थ्रीमा लुकेको चमकपछाडिको भयानक अँध्यारो पक्ष अखबारको पेज १ मा उतार्न सक्लान्?
पेज थ्री संघर्षरत पत्रकारको आँखाबाट मनोरञ्जन क्षेत्रसँगै अपराधको दुनियाँलाई पनि जोड्न सफल फिल्म हो। धेरै कलाकारलाई अभिनय गराइएको यो फिल्ममा समाजका धेरै पक्षलाई कुशलतापूर्वक जोडिएको छ।
आजगुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं-