गुड फ्राइडे सिनेमा
बलिउड अभिनेता राजकुमार राव फिल्मको विषय र चरित्रको मागअनुसार भूमिका गर्छन्।
चरित्रमा अभिनय गर्ने नभई चरित्र नै बाँच्ने सोचले काम गर्ने उनले छोटो समयमा बलिउडमा लोभलाग्दो छलाङ मारेका छन्। व्यावसायिक रूपमा सफल हुनु र समीक्षकको नजरमा पनि पटक पटक उत्कृष्ट बन्न सक्नु राजकुमार रावको खासियत हो।
आज गुड फ्राइडे सिनेमामा उनै राजकुमारका उत्कृष्टमध्येको एउटा फिल्म यहाँ सिफारिस गरेका छौं।
फिल्मको सुरूमै एउटा हिंसात्मक घटनापछि शाहिद (राजकुमार राव) प्रहरीद्वारा समातिन्छन्। निर्दोष भए पनि उनलाई आतंकवादीको आरोपमा जेल हालिन्छ। जेलमा उनलाई सात वर्ष राखेपछि बल्ल निर्दोष करार गरिन्छ।
जेल बसाइका क्रममा उनले आफूजस्तै बिना कारण आतंकवादीको आरोप लगाइने अरू पात्रका मर्म बुझ्ने मौका पाउँछन्। यही तीतो अनुभवले उनलाई बिना कुनै कसुर आतंकवादीको आरोप लगाई वर्षौं जेलमा राखिने निर्दोषका पक्षमा लड्ने प्रेरणा मिल्छ।
जेलमा समयको सदुपयोग गर्दै कानुन विषय पढेका उनी बाहिर निस्केर ल फर्ममा काम गर्छन्। तर वकिलहरूले न्याय दिलाउनभन्दा पैसा कमाउन जोड दिने वातावरणमा उनी टिक्न सक्दैनन्।
यही असन्तुष्टिपछि उनी आफ्नै ल फर्म खोल्छन्। बिस्तारै उनको उद्देश्य नै गरिब, असाक्षर र आतंकवादको बिल्ला लगाइएका निर्दोष मुस्लिमका पक्षमा लडेर मुद्दा जित्नु हुन्छ।
ल फर्म खोलेपछि शाहिद कसरी बेकसुर मान्छेको पक्षमा लड्छन्? यस क्रममा पारिवारिक र व्यावसायिक जीवनमा उनले कस्ता अड्चन झेल्छन्? यही फिल्मको कथा हो।
फिल्मले मुख्य पात्र शाहिद मार्फत भारतको प्रहरी, प्रशासन र कानुनका विभिन्न कमजोर पाटा आलोचनात्मक हिसाबले उजागर गर्छ। खासगरी मुस्लिम जति सबैलाई आतंकवादी देख्ने राज्यको नजरियाप्रति पनि फिल्मले पुनर्विचार गर्न जोड दिन्छ।
अकारण जेल बस्ने युवादेखि जुझारू वकिलका रूपमा राजकुमार रावले मन जित्ने अभिनय गरेका छन्। आफ्नो सशक्त अभिनयका लागि उनले यो फिल्मबाट नेसनल फिल्म अवार्ड र फिल्म फेयर क्रिटिक्स अवार्ड जितेका थिए।
'शाहिद' टोरन्टो इनटरनेसनल फिल्म फेस्टिभल, मुम्बई फिल्म फेस्टिभल, दुबई इन्टरनेसल फिल्म फेस्टिभललगायत धेरै महोत्सवमा प्रदर्शन भएको थियो। फिल्मका लागि निर्देशक हंसल मेहताले पनि नेसनल फिल्म अवार्डलगायत अरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका थिए।
'शाहिद' वकिल तथा मानवअधिकारवादी शाहिद आजमीको वास्तविक जीवनमा आधारित फिल्म हो।
सात वर्षको कार्यकालमा उनले थुप्रै आतंकवादीको आरोप लागेका निर्दोषका पक्षमा लडेर मुद्दा जितेका थिए। उनको मृत्युपछि उनीबाट धेरै मुस्लिम युवालाई न्यायको पक्षमा लड्ने उत्प्रेरणा मिलेको थियो। २०१० फेब्रुअरी ११ मा शाहिद आजमीको मुम्बईस्थित उनकै कार्यालयमा गोली हानी हत्या भएको थियो।
फिल्ममा केके मेनन, प्रबलिन सन्धु, तिमांशु धुलिया, प्रबल पंजाबी आदि कलाकार पनि मुख्य भूमिकामा छन्।