गुड फ्राइडे सिनेमा
पछिल्लो समय दक्षिण भारतीय फिल्महरू लोकप्रिय भइरहेका छन्। मूल रूपमा तमिल, तेलेगु, कन्नड भाषामा बनेका फिल्मले हिन्दी भाषी फिल्मलाई निकै पछाडि छाडिदिए।
ठूलो बजेटमा बनेका 'पुष्पाः द राइज', 'आरआरआर' र 'केजिएफ २' जस्ता फिल्म होऊन् वा कम बजेटमा बनेको 'कान्तारा'; यिनले बक्सअफिसमा तहल्का मच्चाए।
कमाइसँगै कथा वस्तुमा पनि दक्षिण भारतीय फिल्म अब्बल सावित हुँदै गएका छन्।
बलिउडजस्तै दक्षिण भारतमा एक्सन, रोमान्स, थ्रिलरदेखि यथार्थपरक फिल्मको कमी छैन। आज गुड फ्राइडे सिनेमामा भने हामीले थ्रिलर फिल्म सिफारिस गरेका छौं। राम्रो थ्रिलर फिल्मले सुरूआती पाँच मिनेटमै दर्शकलाई यसरी अठ्याउँछ, अन्तसम्म नपुगी फुत्किन दिँदैन।
यस्तै फिल्म हो 'यू-टर्न'।
रोचक कथा भएको यो फिल्ममा सामन्था रूथ प्रभुको मुख्य भूमिका छ। पत्रकार रचनाको भूमिकामा उनी जमेकी छन्। कन्नड फिल्मको रिमेक यो फिल्म सस्पेन्स थ्रिलर मन पराउने दर्शकका लागि रूचिकर हुन सक्छ।
फिल्मको कथा चेन्नईको एउटा रहस्यमयी फ्लाइओभरमा केन्द्रित छ। यो फ्लाइओभरमा सवारी चालकहरू सडकको डिभाइडर हटाएर यू-टर्न लिन्छन्। ट्राफिक नियम उल्लंघन गरी यसरी लिइने यू-टर्न सडक दुर्घटनाको कारण बनिरहेको हुन्छ।
टाइम्स अफ इन्डिया पत्रिकामा इन्टर्न गरिरहेकी सामन्था यो घटनाबारे स्टोरी लेख्न चाहन्छिन्। यसका लागि उनी त्यो ठाउँबाट यू-टर्न लिने सवारी साधनको नम्बर नोट गर्न त्यहीँ नजिकै बस्ने भिकारीलाई पैसा दिएर काम लगाउँछिन्।
भिकारीले उपलब्ध गराएको सवारी साधन नम्बरको माध्यबाट थप जानकारी बटुलेर ती मान्छेको नाम, ठेगाना र अरू जानकारी डायरीमा टिप्छिन्।
सामन्थाको उद्देश्य यसरी ट्राफिक नियम पालना नगर्ने मान्छेहरूको मनोविज्ञान बुझ्नु हुन्छ। तर एक दिन उनी भेट्न गएको एक जना सवारी चालकको मृत्यु हुन्छ। यस घटनापछि सामन्थामाथि प्रहरीले सोधपुछ र शंका गर्छ।
यही घटनाबाट कथाले पनि रोचक 'टर्न' लिन्छ।
फिल्म जति अघि बढ्छ उति नै कथामा नयाँ-नयाँ मोड आउँदै जान्छ। ती हरेक मोडले सामन्थालाई तर्साइरहन्छन्। के भइरहेको छ भन्ने भेउ नपाउँदा उनी दिशाबिहीन भौंतारिएझैं लाग्छ।
जिज्ञासा जगाइराख्ने यो फिल्मले अन्तमा दिने सर्प्राइज झनै रमाइलो छ।
यू-टर्न उत्कृष्ट थ्रिलर फिल्ममध्ये पर्छ।