लोकप्रिय गायक एवम् द भ्वाइस अफ नेपालका जज् प्रमोद खरेलले पर्वत र बाग्लुङको एड्भेञ्चर हब 'द क्लिफ' मा स्काई क्याफेको मज्जा लिएका छन्।
कालीगण्डकी नदीमाथि बाग्लुङको बलेवातर्फ भीरमा डोरीमा झुण्डिएको क्याफेमा उनले बिहीबार 'एड्भेञ्चर ब्रेकफास्ट' गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए।
नेपालमै पहिलो र एकमात्र स्काई क्याफेका लागि भिरमा वारपार स्टिलकोर डोरीको जडान गरिएको छ। सोही डोरीमा घिर्नीका माध्यमबाट टेबल झुन्ड्याइएको छ। क्याफेबाट कालीगण्डकी नदी र कुश्मा बजारको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ।
त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरू गर्ने बेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन्।
कालीगण्डकी नदीको सतहबाट २५५ मिटरको उचाइमा स्काई क्याफे सञ्चालन गरिएको छ। द क्लिफ पुग्ने पर्यटकले प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँ शुल्क तिरेर भिडिओ प्याकेजसहित स्काई क्याफेको मज्जा लिन सक्छन्।
गायक खरेलले स्काई क्याफेका साथै कुष्मामा स्काई चेयरमा समेत मज्जा लिएका छन्।