हलिउड अभिनेता ब्रुस डर्न नेपाली फिल्म 'भूठान' मा देखिने भएका छन्।
फिल्मका निर्देशक विनोद पौडेलले फिल्ममा ब्रुस डर्न अनुबन्ध भएको जानकारी दिएका हुन्। अभिनेता डर्न सन् १९७९ मा फिल्म 'कमिङ होम' र सन् २०१३ मा 'नेब्रास्का' बाट अस्कर अवार्डमा मनोनित भएका थिए। 'नेब्रास्का' बाट उनले कान्समा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।
यसअघि फिल्ममा हरिवंश आचार्य, दयाहाङ राई, जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्दलामा, ऋचा घिमिरे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी, कौशिला खनाल कर्माचार्यलगायत कलाकार अनुबन्धित भइसकेका छन्। हाल अमेरिकामा फिल्मको छायांकन भइरहेको छ।
अविरल थापा, राजेन्द्र ठकुराठी र अमिताभ जोशी निर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले लेखेका हुन्। फिल्मको नाम नेपालीमा 'भूठान' र अंग्रेजीमा 'द वर्ल्डस ह्याप्पिएस्ट म्यान' राखिएको छ।
भुटानदेखि भारत, नेपालहुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देशप्रेम र जीवनयात्राको कथा समेटेर बन्न लागेको यस फिल्म सन् २०१९ मा बुसान फिल्म फेस्टिभलको स्क्रिप्ट पिचिङमा समेत छानिएको थियो।
यस फिल्मलाई अमेरिकाको म्याड मंकी फिल्म्सले निर्माण गर्नेछ। साथै अमेरिकाको डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन्।
सुसन प्रजापतिले छायांकन गर्ने फिल्मलाई अन्जय खड्काले सम्पादन गर्नेछन्। फिल्ममा डिकेश खड्गी शाहीको ध्वनि, सूर्य शाहीको कास्टिङ, उज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ। किर्तना बाँस्कोटा, एलि वोहोरा, विशाल डोटेल, समुन्द्रराज घिमिरेले निर्देशनमा सहयोग गर्नेछन्।
यो फिल्म सन् २०२५ मा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ।