नविन सुब्बा निर्देशित फिल्म 'गाउँ आएको बाटो' युरोपको फिल्म फेस्टिभलमा छनोट भएको छ।
यो फिल्म '४७ औं गोटेबर्ग इन्टरनेशलन फिल्म फेस्टिभल २०२४' स्वीडेनमा छनोट भएको हो। फेस्टिभलमा फिल्मको युरोपियन प्रिमियर हुने निर्माण टिमले जानकारी दिएका छन्।
गोटेबर्ग फिल्म फेस्टिभल जनवरी २६ देखि फेब्रुअरी ४ सम्म चल्नेछ। फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ।
यो फिल्म टोरोन्टो फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो भने बुसान इन्टरनेशल फिल्म फेस्टिभल, एशियन प्रिमियर, मामी मुम्बईमा साउथ एशियन प्रिमियर भइसकेको छ।
फिल्मले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवन यापन गर्ने माइला (दया), माइली (पशुपति राई) र उनीहरूको सात वर्षे छोरा बिन्द्रे (प्रसान राई) को गाँउमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तनले ल्याउने उथलपुथल, संघर्षको कथा पेस गर्छ।
फिल्मको पटकथा निर्देशक सुब्बाले महेश सुब्बासँगको सहकार्यमा लेखेका हुन्। मेन्छ्याम फिक्चर्स तथा बाँसुरी फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन्।
यो फिल्म जेठ १८ गतेदेखि प्रदर्शन हुनेछ।