सौन्दर्य प्रतियोगिता 'मिस युनिभर्स नेपाल' को आयोजक परिवर्तन गरिएको छ। अब यस प्रतियोगितालाई ग्लोबल ग्ल्यामर भेन्चरले आयोजना गर्नेछ।
नेपालमा द हिडन ट्रेजरले मिस युनिभर्सको आयोजना गरेपछि यो तेस्रो पटक हेरफेर हो। यसअघि उमंग क्रियसनले आयोजना गरेको थियो।
बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै 'मिस युनिभर्स नेपाल २०२४' को घोषणा गरिएको हो। ग्लोबल ग्ल्यामर भेन्चरका अनुसार यसको फर्म आगामी अप्रिलमा खुल्नेछ। १८ वर्ष उमेर नाघेका विश्वभरका नेपाली महिलाहरूले प्रतियोगितामा भाग लिन सक्नेछन्।
भेन्चरकी प्रमुख कार्यकारी अधिकृत सबि पुरीले यो प्रतियोगिताको घोषणा गर्न पाउँदा आफू उत्साहित भएको बताइन्। 'हामी नयाँ सोच लिएर आएका छौं। उर्जावान र समर्पित टिमले कार्यक्रमलाई भव्य बनाउनेछौं,’ उनले भनिन् ।
ग्लोबल ग्ल्यामर भेन्चरकी संस्थापक संगीता पुरीका अनुसार प्रतियोगिताकी विजेताले मेक्सिको यात्रा गर्ने अवसर पाउनेछिन्। छनोट प्रक्रिया र पुरस्कारबारे भने घोषणा हुन बाँकी छ।
'युनिभर्स वुमन २०२४' भ्यालेन्टिना सान्चेज ट्रिभेलाले प्रतियोगितामा सहभागी हुँदा आफूले सिकेका अनुभव गरेका सुनाइन्।
'आयोजकले मलाई नेपाल बोलाउनुभयो। नेपाल कला, संस्कृतिमा निकै धनी लाग्यो,’ उनले भनिन्।