नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौं संस्करण चैत १ देखि ५ गतेसम्म हुने भएको छ।
आयोजक नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले मंगलबार नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा प्रदर्शन हुने फिल्महरूको सूची सार्वजनिक गर्दै महोत्सव अवधिभर समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि सञ्चालन हुने जानकारी गराएको छ।
महोत्सवमा ४० देशका ८८ वटा फिल्म देखाइने छ। महोत्सवमा प्रदर्शन हुने फिल्म क्युएफएक्स सिनेमाका शाखाहरू सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन्।
निफका अध्यक्ष केपी पाठकले भने, 'निफलाई प्राप्त फिल्मको संख्याले हामीलाई उत्साहित बनाएको छ। फिल्म आउने यो अनुपात हेर्दा ५ दिनमा पनि नभ्याउने स्थिति बनिरहेको छ।'
कार्यक्रममा शुभकामना व्यक्त गर्दै अभिनेता नीर शाहले निफले आगामी दिनमा पूँजी र बजार एवं पूर्वीय ज्ञानमा केन्द्रित गर्नुपर्ने सुझाव दिएका थिए।
निफको यो संस्करण पनि अघिल्लो संस्करण जस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी अवार्ड बाँडिनेछ भने लघु फिल्म र वृत्तचित्र विधामा पनि अवार्ड वितरण गरिनेछ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिका डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ। त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरूबाट एउटालाई ‘चलचित्र समाजहरूको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन क्विहोटे अवार्ड’ प्रदान गरिनेछ।
महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेष्ट अवार्ड, र सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय राशिको बागमती अवार्ड प्रदान गरिनेछ। यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ।
सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ।
यस वर्ष दर्शकले रूचाएको एक फिल्मलाई 'अडियन्स च्वाइस अवार्ड' प्रदान गरिनेछ।