चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ।
बुधबार बोर्डको वेबसाइटमार्फत एक सूचना जारी गर्दै इच्छुक व्यक्तिलाई १५ दिन भित्र आवेदन पेस गर्न आह्वान गरिएको छ। कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरी माघ २५ गतेसम्ममा बोर्डको कार्यालय वा इमेलमार्फत आवेदन पेस गर्न सकिनेछ।
बोर्डको चालू आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार २०८० माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन हुन लागेको हो। बोर्डले नेपाली फिल्मकर्मीहरूको दक्षता अभिवृद्धि गर्न उक्त कार्यशाला सञ्चालन गर्न लागेको उल्लेख गरिएको छ।
कार्यशालामा सहभागी हुन पहिलो दर्ता हुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिइने बताइएको छ। कार्यशालाबारे विस्तृत जानकारी केही दिनमा सार्वजनिक गरिने कार्यशाला संयोजक तथा बोर्ड सदस्य राजु केसीले बताए।