म्युजिक भिडिओ निर्देशन गरिरहेका माइकल चन्दले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन्।
माइकल इन्टरटेनमेन्ट हाउसको प्रस्तुतिमा नयाँ फिल्मको घोषणा गर्दै उनले फिल्म निर्देशनमा हात हालेका हुन्। उनले निर्देशन गर्न लागेको फिल्मको नाम 'राम नाम सत्य' राखिएको छ। फिल्मको कथा पनि स्वयं चन्दले नै लेखेका हुन्।
फिल्ममा प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवालको लगानी रहनेछ। यो फिल्मको सार्वजनिक थिम पोस्टरमा एउटा ठूलो घन्टी र बञ्चरोलाई देखाइएको छ। साथमा आकृतिमा एक पुरुष दौडिरहेको देख्न सकिन्छ।
'फिल्म निर्देशन गरेर यो क्षेत्रलाई केही योगदान गरौं भन्ने सोच मेरो पहिलेदेखि नै थियो। अहिलेको समसामयिक विषयवस्तुमा केही फरक कथा भन्नुपर्छ भन्ने पनि लागेको थियो। त्यसैले फिल्म निर्देशन गर्न लागेको हुँ,' उनले भने।
यो फिल्म आगामी वर्षदेखि छायांकनमा जानेछ। हाल फिल्मका लागि कलाकारको छनोट भइरहेको निर्देशक माइकलले बताएका छन्।