नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अभिनेता रमित ढुंगानाको डेब्यू निर्देशित फिल्म 'नमेटिने घाउ' मा अभिनय गर्न लागेका हुन्।
काठमाडौंमा आइतबार फिल्मको औपचारिक घोषणा गरिएको हो। सो कार्यक्रममा ओलीसमेत उपस्थित रहेका थिए।
फिल्ममा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत हुनेछन्। फिल्ममा तेजाब आक्रमणमा परेका किशोरी र महिलाको जीवनका कथालाई समेटिनेछ।
'एसिड आक्रमण जस्ता घटना घटिरहेका छन्। यो अन्त्य हुनुपर्छ। यसै अभियानमा जोडिएको छ- नमिटिने घाउ। यो एउटा अभियान र प्रभावकारी अंग हो,' कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘मान्छेले छालाको सुन्दरतालाई प्राथमिकता दिन्छन्। मनको, आचरणको, व्यवहारको र आन्तरिक सुन्दरता मान्छेले बुझेको हुँदैन। एसिड आक्रमणले एक जनालाई मात्र पीडा दिएको हुँदैन। उनका साथीभाइ र परिवारलाई पनि बारम्बार पीडा दिइरहेको हुन्छ। नमेटिने घाउले केही हदसम्म यसलाई अन्त्य गर्छ भन्ने मलाई लागेको छ।'
यो फिल्ममा तेजाब आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाउन लागिएको हो। फिल्ममा शिवम् अधिकारीको कथा, ओम सुनारको संगीत रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन्।
रमित ढुंगाना फिल्म प्रोडक्शन ब्यानरमा निर्माण हुने फिल्ममा मुस्कान खातुन, सिम्रन खड्का, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहालगायत कलाकारको अभिनय रहनेछ।