नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को जुरी कमिटीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री दीया मास्के र साउन्ड डिजाइनर किशोर आचार्य मनोनित भएका छन्।
निफका अध्यक्ष केपी पाठकले प्रदीप खड्का फिचर फिल्मतर्फ, अभिनेत्री दीया मास्के सर्ट तथा डकुमेन्ट्रीतर्फ र किशोर आचार्य डनकिहोटे अवार्डको निर्णायक रहने तय भएको जानकारी दिए।
प्रदीप र दीया गत सालको संस्करणमा फिचर फिल्म विधाका अभिनेता र अभिनेत्री विधाका विजेता हुन्। उनीहरूले दुवैले दर्जन हाराहारी फिल्ममा अभिनय गरेका छन्। साउन्ड डिजाइनर किशोर आचार्यले अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेको थुप्रै नेपाली फिल्ममा साउन्ड डिजाइनरको भूमिका निर्वाह गरेका छन्।
आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौंमा आयोजना हुने निफमा तीन विधामा तीन सदस्यीय जुरी रहने प्रावधान अनुरुप नेपालतर्फका जुरी सदस्यको नाम टुंगो लागेको हो। यस्तै दुई जना जुरी विदेशी फिल्मकर्मी हुनेछन्। विदेशीबाट सहभागी हुने जुरीको नाम केही समयमा नै सार्वजनिक गरिनेछ।
यस वर्षको संस्करणमा ४० देशका ८८ वटा लामो, छोटो तथा वृत्तचित्र प्रदर्शन हुनेछन्। प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्रियाका कार्यक्रम पनि आयोजना गरिनेछ। महोत्सवमा प्रदर्शन हुने फिल्म क्यूएफएक्स सिनेमाका शाखाहरू सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन्।