शंकर कोइरालाको निर्देशन रहने फिल्म 'मोदीबेनी' को शुभ मुहूर्त गरिएको छ।
मंगलबार कमलादीस्थित गणेश मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको हो। मुहूर्त गरेसँगै फिल्मको छायांकन पनि सुरू गरिएको छ।
फिल्ममा अभिनेत्री वर्षा सिवाकोटीले मुख्य भूमिकामा अभिनय गर्ने भएकी छन्। सिवाकोटी मुहूर्त समारोहमा उपस्थित हुँदै आफूले नव अभिनेता अमर प्रताप श्रेष्ठसँग स्क्रिन सेयर गर्न लागेको जानकारी दिएकी छन्।
फिल्मको टिमको काम गर्ने तरिका र स्क्रिप्ट मन परेर आफूले 'मोदीबेनी' मा अभिनय गर्न लागेको सिवाकोटीले बताइन्। 'मेरो भूमिका आजसम्म मैले गरिरहेको भन्दा एकदमै भिन्न छ। कथावस्तु पनि चलनचल्तीका फिल्महरूको भन्दा फरक छ। यो फिल्म एक नयाँ प्रयोग पनि हुनसक्छ,' उनले भनिन्।
ओजस थिएटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका अमरले केही विज्ञापन तथा 'प्रीतको रित' नामक वेब सिरिजमा अभिनय गरेका छन्।
यसै फिल्मबाट झण्डै ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गर्दैछिन्। उनले पछिल्लो फिल्म 'वरदान' मा अभिनय गरेकी थिइन्।
फिल्ममा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिसलगायत कलाकारको अभिनय रहनेछ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मको कथा आनन्द बिक्रम क्षेत्रीले लेखेका छन्। दिलीप केसी निर्माता रहेको फिल्ममा हरि श्रेष्ठ सह-निर्माता रहेका छन्। करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ।
फिल्ममा उत्सव दाहालको डिओपी, दिपेन्द्र गौतम (माइकल) को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गिता पौडेलको हेयर डिजाइन, भिम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ।