नीता ढुंगाना र हरिहर अधिकारीको निर्माण तथा अभिनय रहेको फिल्म 'ह्रस्व दीर्घ' दसैंमा प्रदर्शन हुने भएको छ।
बिहीबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन्। फिल्मका अभिनेता ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर पोस्टर सार्वजनिक गरिएको हो। यो फिल्म आगामी असोज ११ गतेदेखि प्रदर्शन हुनेछ।
चन्द्र पन्द निर्देशित फिल्ममा नेपाली र भारतीय कलाकारको अभिनय छ। नीताले पहिलोपटक होम प्रोडक्सनबाट निर्माण गरेको फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, सलोन बस्नेत, गरिमा शर्मा, सञ्चिता लुईंटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झासँगै भारतीय कलाकारहरू ब्रह्मानन्दम, सुनिल वर्मा, प्रदीपराज रावत र अलीको अभिनय छ।
हास्य अभिनयबाट चर्चित ब्रह्मानन्दमले संसारमै सबभन्दा धेरै फिल्म खेल्ने जीवित कलाकारका रूपमा गिनिज वर्ल्ड रेकर्ड राखेका छन्। सन् असी दशकको मध्ययता तमिल र तेलुगू भाषामा बनेका प्रायः फिल्ममा उनले आफ्नो उपस्थिति देखाउँदै आएका छन्।
सुनिल आफ्नो पछिल्लो फिल्म 'पुष्पा' बाट चर्चामा छन्। यो फिल्मले नेपालमा पनि राम्रो कमाइ गरेको थियो। त्यस्तै प्रदीपराजले 'गजिनी' को खलनायक भूमिकाबाट निकै चर्चा कमाएका थिए। अली दक्षिण भारतीय फिल्मका चर्चित हास्य कलाकार हुन्।
फिल्मलाई भारतीय छायांकार कबीरलालले खिचिरहेका छन्। उनले 'हिरोपन्थी २' र 'भैयाजी सुपरहिट' फिल्म छायांकन गरेका थिए।
नेपाल र भारतमा छायांकन गरिएको फिल्ममा धनन्जय घलानी कास्टिङ निर्देशक हुन्।