नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण सुरू हुने भएको छ।
अमेरिकाको मेरील्याण्ड र वासिङटन डिसीमा २०२४ जुन २० देखि २३ सम्म हुनेछ। महोत्सवसका लागि विश्वभरबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ।
अमेरिकाको मेरिल्याण्डमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ।
महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनका साथै सबै विधाका फिल्महरू प्रदर्शन गरिनेछन्। नेपाल, अमेरिका र दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र फिल्महरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन्।
अमेरिकाका वासिङटन डिसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय फिल्मकर्मीलाई प्रोत्साहन गर्न 'डिएमभी क्लोजअप' अन्तर्गत फिल्महरू प्रदर्शन हुनेछन्। स्थापना कालदेखि 'ग्लोबल पिस फिल्म फेस्टिभल' फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका फिल्महरू यो वर्ष पनि समावेश हुने जनाइएको छ।
महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे 'प्यानल' छलफल तथा कार्यशाला समेत हुनेछन्। हरेक फिल्म प्रदर्शनपछि त्यसका निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया गरिनेछ।
'यस महोत्सवले सम्पूर्ण दर्शक तथा सहभागीमा मनोरञ्जन र ज्ञान आदानप्रदानको फरक अनुभूती गराउने विश्वास लिएका छौं,' महोत्सवका निर्देशक युवाकर राजकर्णिकारले भने।