अमेरिकाको प्रसिद्ध द रूबिन म्युजियम बन्द हुने भएको छ।
यो वर्ष (सन् २०२४) को मार्च १५ देखि अक्टुबर ६ मा अन्तिम प्रदर्शनी ‘रिइम्याजिनः हिमालयन आर्ट नाउ’ पछि यो म्युजियम सदाको लागि बन्द हुन लागेको न्युयोर्क टाइम्सले जनाएको छ।
रूबिन म्युजियम सन् २००४ मा डोनाल्ड र सेली रूबी नामक श्रीमान र श्रीमतीले स्थापना गरेका थिए। उनीहरूले आफूले संकलन गरेका कलात्मक सामग्री प्रदर्शन गर्ने थलोको रूपमा यो म्युजियम बनाएका थिए। म्युजियममा करिब चार हजार हिमाली क्षेत्रका कलाको संकलन छ, जुन १५ सय वर्षभन्दा पुराना छन्।
रूबिन म्युजियमलाई पछिल्लो समय एसियाली क्षेत्रमा चोरी भएका मूर्ति प्रदर्शन गर्दै आएको आरोप छ। काठमाडौंको इतुम्बहाल म्युजियममा पनि रूबिनले केही समयअघि आर्थिक सहयोग गरेको थियो। आफ्नो प्रतिष्ठा नै खराब भएको संग्रहालयले नेपालमा गरेको सहयोगको मनसाय पनि खराब हुनसक्ने अनुमान गर्दै सम्पदा अभियन्ताहरूले विरोध गरेका थिए।
आफ्नो आर्थिक अवस्था कमजोर हुँदै गएकाले संग्रहालय बन्द गर्नुपरेको रूबिनले जनाएको छ। यो म्युजियम बन्द हुने खबरसँगै अमेरिकामा रहेका अन्य संग्रहालयहरू पनि सशंकित भएका छन्।
‘यहाँका संग्रहालयहरू आर्थिक रूपमा नराम्रो अवस्थाबाट गुज्रिरहेका छन्,’ रूबिन म्युजियमकी पूर्व कार्यकारी लोरा राइकोभिन्चले बताएकी छन्, ‘अहिले यहाँका धेरै संग्रहालय दाताहरूको सहयोगमा निर्भर हुन परेको छ।’
संग्रहालय कस्तो हुनुपर्छ भन्ने परिभाषा पनि आजको समयमा परिवर्तन हुँदै गएकाले यो संग्रहालय बन्द भएको बताइएको छ।
नेपालबाट चोरी भएर अमेरिकामा फेला परेका चार वटा मूर्ति बुधबार पुरातत्व विभागलाई हस्तान्तरण गरिएको थियो। त्यसमध्ये दोलखास्थित भैरवको एउटा मूर्ति रूबिन म्युजियमबाट फिर्ता ल्याइएको हो।