अभिनेता दयाहाङ राई अभिनीत फिल्म 'हात्तीछाप' र 'दयारानी' एकसाथ प्रदर्शन हुँदैछ।
यतिबेला उनी माघ २६ गतेदेखि प्रदर्शन हुने दुवै फिल्मको प्रमोशनमा व्यस्त छन्। यसैबीच उनले १ वर्षसम्म नयाँ फिल्म साइन नगर्ने समेत बताएका छन्। बारम्बार आफ्नो फिल्म जुध्न थालेपछि उनले १ वर्षसम्म फिल्म साइन गर्ने बताएका हुन्।
बिहीबार काठमाडौंमा 'हात्तीछाप' को पत्रकार सम्मेलन आयोजना गरिएको थियो। 'यो फिल्मको कथावस्तु निकै राम्रो छ। निर्देशक सिमोस सुनुवारसँग लामो समयदेखि काम गर्ने विषयमा छलफल भइरहेको थियो। पहिले पनि काम गर्ने भनेर गर्न पाइएन। यसैले यसपटक सिमोसको निर्देशनमा काम गर्न म उत्साहित भएको हुँ' कार्यक्रममा उनले 'हात्तीछाप' को बारेमा बताउँदै उनले भने, 'यसको मुख्य उद्देश्य त व्यवसायिकता नै हो। तर फिल्मले समाजका विभिन्न विषयवस्तुलाई समेटेको छ। यो फिल्म दामी बनेको छ। त्यसैले म उत्साहित छु।'
'यो फिल्मले नेपाली दर्शकलाई भावनामा जोड्छ। यसलाई व्यवसायिक फिल्मको रूपमा मात्र हेर्नु हुँदैन। सबै नेपालीले भोगेको विषयलाई लिएर कथा बनाइएको छ,' अभिनेत्री उपासनाले भनिन्।
किरण नेपालीको प्रस्तुतीमा सिमोस सुनुवारले निर्देशन गरेको फिल्ममा दया र उपासनासँगै सौगात मल्ल, बेनिशा हमाल, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायत कलाकारको अभिनय छ।