महिला सशक्तिकरणको विषयलाई समेटेर म्युजिकल फिल्म 'चल्ने हावालाई' सार्वजनिक गरिएको छ।
संगीता श्रेष्ठ निर्देशित फिल्म शनिबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको हो। कार्यक्रममा उपसभामुख इन्दिरा रानासमेत उपस्थित थिइन्।
उक्त म्युजिकल फिल्म हेरेपछि उपसभामुख रानाले प्रसंशा गर्दै उद्देश्य बोकेर संघर्ष गरेमा सफलता हात पर्ने बताइन्।
'यहाँ छोरीले गर्न सक्दिनन् की भन्ने सोच्ने नभएका होइनन् तर हामीले उनीहरूलाई काम गरेर देखाउनु पर्छ। यस्ता म्युजिकल फिल्ममार्फत छोरीलाई गरिने विभेदलाई कम गर्न सचेतनाको संदेश प्रवाह हुन्छ,' उनले भनिन्।
निर्देशक श्रेष्ठले "चल्ने हावालाई' मार्फत छोरीहरूलाई छोराझैँ समान रूपमा हेर्न र बुझ्न आग्रह गरिएको बताइन्।
'हामी छोरालाई दिने अवसर किन छोरीलाई दिन सक्दैनौं? के उनीहरूमा योग्यता छैन र? कि हाम्रो सोच नै अयोग्य छ? यस्ता विषयमा सोच्नु पर्ने समय आएको छ' निर्देशक श्रेष्ठले भनिन्, 'यो गीत सुनेपछि यसको शब्द अनुसार एउटा कथा फुरेपछि म्युजिकल फिल्मको रूपमा तयार गरेका हौं। छोरीलाई अवसर दिनका लागि हामीले मन र सोच सुन्दर र फराकिलो बनाउनै पर्छ।'
गीतमा सम्वृद्धि श्रेष्ठ, सञ्चिता लुइँटेल, बेनिशा हमाल, गजित विष्ट, सोनिका बास्तोला, थमन सिंह पुर्जा, क्रिस केसीलगायत कलाकारको अभिनय छ।
सरू पराजुलीको स्वर तथा शिव चम्लागाईंको शब्द र संगीत रहेको गीतमा अभिनेत्री हमालले पाइलट बन्ने सपना पुरा गर्न गरेको संघर्षलाई देखाइएको छ। म्युजिकल फिल्म 'चल्ने हावालाई' गायिका पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।