लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा फिल्म 'पार्वती' बन्ने भएको छ।
शनिबार उनको जन्मदिनको अवसर पार्दै फिल्मको औपचारिक घोषणा गरिएको हो। 'गाउँले केटी मो' स्लोगन दिइएको फिल्म 'पार्वती' महिला केन्द्रित कथामा बन्नेछ।
'कतिपयले पार्वती नाम सुन्ने बित्तिकै धार्मिक फिल्म होला भन्ने सोच्नु भएको छ। तर पार्वती पात्रको नाम हो' निर्देशक सुवेदीले भने, 'यो महिला केन्द्रित फिल्म हो। म महिला केन्द्रित फिल्म मात्रै बनाउने योजनामा छु। यसअघि मैले 'सतीदेवी' नामक महिला केन्द्रित फिल्म बनाएको छु।’
पार्वती पारिवारिक कथामा बन्नेछ। विशेष गरी आमाछोरीको कथामा केन्द्रित रहने निर्देशक सुवेदीले बताए।
सामाजिक प्रेमकथामा निर्माण हुने फिल्मको छायांकन जेठ महिनामा गर्ने तयारी छ। हाल फिल्मको स्क्रिप्ट लेखन कार्य भइरहेको छ।
नेपाली र अंग्रेजी भाषामा बन्ने फिल्ममा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरूको बारेमा भने खुलाइएको छैन।
दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको फिल्मको निर्मातामा श्रीदेवी सुवेदी छिन्। गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहने फिल्मको प्रदर्शन २०८१ सालको महाशिवरात्रीमा गर्ने तय गरिएको छ। फिल्मको वितरण श्रीराम बालाजी फिल्म्सका सुनिल मानन्धरले लिएका छन्।