कर विरोधमा आज देशभरका सिनेमा हल बन्द गरिएको छ।
सांकेतिक विरोध भन्दै नेपाल चलचित्र संघले सोमबार फिल्म प्रदर्शनमा रोक लगाएको हो।
सरकारले अव्यवहारिक रूपमा ३६ प्रतिशत कर उठाउँदै आएको संघको भनाइ छ। चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै संघले यसलाई खारेज गर्नुपर्ने माग गरेको छ। अहिले नेपालमा १५० सिनेमा हल सञ्चालनमा छन्।
'हामीले सरकारलाई ज्ञापन पत्र दिने तयारीमा छौं। यसबाट कस्तो प्रतिक्रिया आउँछ त्यही अनुसार चरणबद्ध रूपमा अगाडि बढ्ने छौं। आज सांकेतिक रूपमा एक दिन हल बन्द भयो अब हामी पहल गर्ने तर्फ लाग्छौं,' संघका महासचिव नरेन्द्र महर्जनले भने।