कृषा चौलागाईंको निर्देशन रहने फिल्म 'पिताम्बर' को छायांकन सुरू भएको छ।
नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरू गरिएको हो। फिल्मका बाल कलाकारले मुहूर्त सट दिएको निर्देशक चौलागाईंले जानकारी दिइन्।
निर्देशक चौलागाईंको अुनसार फिल्मको पहिलो चरणको छायांकन सुरू गरिएको हो। पहिलो चरणको छायांकन १५ दिनको रहने छ।
फिल्मको पहिलो सेड्युलमा सुरक्षा पन्त, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव विष्टलगायतको छायांकन गरिनेछ। दोस्रो सेड्युलमा अभिनेता प्रदीप खड्का र सौगात मल्ल जोडिनेछन्।
केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन्। फिल्मको तीन चरणमा छायांकन हुनेछ।
विशाल चौलागाईं निर्माता रहेको फिल्ममा प्रदीप खड्का एक्सन भूमिकामा देखिनेछन्। प्रदीप भारद्धाजको लेखन रहेको फिल्म बजेट ५ करोड अनुमान गरिएको छ।
यो कृषा चौलागाईंको दोस्रो निर्देशकिय फिल्म हो। यसअघि उनले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन्।