अभिनेत्री छिरिङ शेर्पा र जगदिश गुरुङ (जेडी तमु) ले सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाइमा कोरियोग्राफी गरेर विश्व रेकर्ड राखेका छन्।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड' को प्रमाणपत्र ग्रहण गरेका छन्। उनीहरूले सन् २०२२ नोभेम्बर १७ मा ५ हजार २ सय ७८ मिटरको उचाइमा कोरियोग्राफी गर्दै 'द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड (पेयर)' को रेकर्ड राखेका थिए।
राष्ट्रपति पौडेलले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गर्दै उनीहरूलाई बधाई दिएका थिए। सन् २०२४ को स्प्रिङ (अप्रिल-मे) मा सगरमाथासमेत आरोहण गर्न लागेकी छिरिङलाई आरोहणको शुभकामना पनि दिएका थिए।
'यो सम्मानले मेरो एउटा सपना पुरा भएको छ,' छिरिङले भनिन्।
छिरिङले पासाङ ल्हामु फाउण्डेसनबाट हिमाल आरोहण सम्बन्धि तालिम लिइसकेकी छन्। उनी ८ के एक्सिपिडिसनबाट 'माई भ्वाइस फर शेर्पा क्लाइम्बर्स' नारासहित सगरमाथा आरोहण गर्न लागेकी हुन्।