महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको फिल्म 'अञ्जिला' को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई स्थान दिइएको छ।
मिलन चाम्सले निर्देशन गरेको फिल्ममा प्रेम कुमार श्रेष्ठको लगानी छ। फिल्ममा अञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको कथा समेटिनेछ। २०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी अञ्जिलाले १३ वर्षको उमेरदेखि फुटबल खेल्न सुरू गरेकी थिइन्।
अञ्जिलाकै जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौंमा यस फिल्मको छायांकन भएको छ। फिल्ममा अञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ। उनीसँगै फिल्ममा दयाहाङ राई, मिरूना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तानलगायत कलाकारको अभिनय छ।
सुदीप बरालले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गर्नेछन्। मुन लभ इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मका सह-निर्माता विनोद अग्रवाल र राजेश बगडिया हुन्। विनोद सुवेदी खत्री यसका निर्माण नियन्त्रक हुन्।