लक्ष्मण सुवेदी लिखित, निर्मित तथा निर्देशित फिल्म 'सतीदेवी' को विशेष प्रदर्शनी गरिएको छ।
बुधबार दमौलीको क्युएफएक्स सिनेमामा फिल्मको विशेष प्रदर्शनी गरिएको हो। शोमा मध्यनेपाल, लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले फिल्म 'सतीदेवी' लाई सम्पूर्ण रूपले सहयोग गर्ने प्रतिवद्धता गरेका छन्।
विशेष प्रदर्शनी समारोहमा मध्यनेपाल नगरपालिका वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ, वडा नं ३ का अध्यक्ष केशव न्यौपाने, वडा नं ४ का अध्यक्ष रामबहादुर श्रेष्ठ, वडा नं ७ का अध्यक्ष हिराबहादुर गुरुङ र वडा नं ९ का अध्यक्ष महेशकुमार पाण्डेलगायत जनप्रतिनिधि तथा वडा नं ५ स्थित लाफा गाउँ होमस्टे, श्री सृजनाशील एकता मगर समाजका प्रतिनिधिहरुका साथमा स्थानीयहरूको बाक्लो उपस्थिति थियो।
फिल्म हेरेपछि दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका थिए। गत माघ तेस्रो साता सौराहामा सम्पन्न सौराहा दक्षिण एसियाली चलचित्र महोत्सवमा सर्वाेत्कृष्ट चलचित्र र शिव रेग्मी सर्वाेत्कृष्ट चलचित्र निर्देशक अवार्ड जितेको 'सतीदेवी' को चर्चाप्रति केही दिन अघि सूचना तथा संचारमन्त्री रेखा शर्माले चासो देखाएकी थिइन्।
दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको फिल्म पछिल्लो समय निकै चर्चामा छ। दिलासा, सारा र श्रीदेवी सुवेदी निर्माता रहेको फिल्ममा मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सृजना अधिकारी, सन्दिपबाबु लोहनी, सुजिता शिवाकोटी, भोला सापकोटा, मनिषा सापकोटा, सन्देश लिम्बूलगायत कलाकारको अभिनय छ।