चेक रिपब्लिककी क्रिष्टिना पिस्कोभा मिस वर्ल्ड २०२४ चुनिएकी छन्।
भारतको मुम्बइमा गएराति सम्पन्न प्रतियोगितामा विभिन्न ११० देशका प्रतियोगीलाई पछि पार्दै पिस्कोभाले ७१ औं मिस वर्ल्डको ताज जितेकी हुन्।
प्रतियोगिताको प्रारम्भिक चरणमा फिटनेश, सौन्दर्य, प्रतिभा र पब्लिक स्पिकिङ लगायतका विधाबाट ४० जना छानिएका थिए।
त्यसपछि विभिन्न चरणबाट शीर्ष १२ हुँदै शीर्ष ८ प्रतियोगी छानिएका थिए।
शीर्ष आठमा भारतमा भर्खरै सम्पन्न जी-२० शिखर सम्मेलनबारे छलफल गरिएका विषयहरूलाई प्रतियोगीहरूसँग प्रश्नोत्तर भएको थियो।
त्यसपछि प्रतियोगीहरूलाई महिला स्वास्थ्यबारे प्रकाश पार्न लगाइएको थियो। त्यसमा पिस्कोभाले महिनावारी र समाजबारे प्रकाश पारेकी थिइन्। महिनावारीको विषयलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनले बताएकी थिइन्।
त्यसबाट शीर्ष चारमा छानिएकी पिस्कोभाले लेबनानकी यस्मिन जेटौन, ट्रिनिडाड एन्ड टोबागोका अचे अब्राहम र बोत्सवानाकी लेसेगो चेम्बोलाई पछि पार्दै ताज जितेकी हुन्।
लेबनानकी यस्मिन जेटौन उपविजेता चुनिइन्। भारतकी सिनी सेट्टी प्रतियोगितामा सातौं भइन्।
२३ वर्षीय पिस्किभा कानुनका विद्यार्थी हुन्।
यसअघि पोल्याण्डकी करोलिना बिलावस्का मिस वर्ल्ड थिइन्। उनी २०२२ मा मिस वर्ल्ड चुनिएकी थिइन्। २०२३ मा प्रतियोगिता हुन सकेन। अब २०२५ मा ७२ औं मिस वर्ल्ड प्रतियोगिता हुनेछ।