कलाको बिस्तार र विकासका लागि अन्तर्राष्ट्रिय स्तरको कला कार्यशाला हुने भएको छ।
कला, कलाकार, कला लेखक, कलाको बजार र समाजलाई एकैसाथ लैजाने उद्देश्यले कार्यशाला एवम् प्रदर्शनी गर्न लागेको कार्यशाला संयोजकका रूपमा रहेकी 'आकार आर्ट सेन्टर' की अध्यक्ष तथा कलाकार अनिता भट्टराईले बताइन्।
बुधबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा भट्टराईले कार्यशालाबारे जानकारी दिएकी हुन्। उनका अनुसार चैत्र २ गतेदेखि ५ गतेसम्म 'कलाशाला' शीर्षकमा गर्न लागेको कार्यशालामा नेपालसहित भारत, ताइवान, बंगलादेश, इरान र युएईका १ सय २० जना कलाकारहरू सहभागी हुनेछन्।
कार्यशाला उद्घाटन कार्यक्रम काठमाडौंको एयरपोर्टस्थित 'होटेल एयरपोर्ट' मा युरोपियन युनियन (ईयु) का राजदूत भेरोनिक लोरेन्जोको आथित्यमा चैत्र २ गते १ बजेदेखि सुरू हुनेछ। त्यस्तै ३ गते बिहान ८ बजे कलाकारहरूसँग पाटन दरबार क्षेत्रमा भ्रमण हुनेछ। त्यसपछि दिउँसो १ बजे कलाकारहरू नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आर्ट ग्यालरीमा जानेछन्। त्यसलगत्तै ‘होटेल एयरपोर्ट’ कला प्रदर्शनी हुने जनाइएको छ। ४ गते भने पशुपतिनाथ दर्शन र भ्रमणसँगै एयरपोर्ट होटेलमै कला प्रदर्शनी र समापन समारोह हुनेछ। ५ गते कलाकारहरू आ-आफ्नो देश प्रस्थान गर्नेछन्।
कार्यशालालाई 'इन आर्ट वर्ल्ड' को आयोजनामा आकार सेन्टर र 'नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज' ले संयोजन गरेको हो।
कार्यशालामा सिर्जना भएका कलाकृति बिक्री गरेर आएको ५० प्रतिशत रकम 'सफलता एचआईभी शिक्षा सदन' लाई प्रदान गरिनेछ।
कार्यशालामा चित्र, मूर्ति, प्रिन्ट मेकिङ, डिजिटल आर्टलगायतका विविध विधाहरू समेत समावेश हुने बताइएको छ।