युरोपियन युनियन (ईयु) का राजदूत भेरोनिक लोरेन्जोको उपस्थितिमा अन्तर्राष्ट्रिय 'कलाशाला' कार्यशाला सुरू भएको छ।
शुक्रबार काठमाडौंको एयरपोर्टस्थित 'होटेल एयरपोर्ट' मा लोरेन्जोले कार्यशालाको उद्घाटन गरेकी हुन्। कार्यशाला उद्घाटन र कला अवलोकन गर्दै उनले कला मार्फत नै फरक देश, फरक संस्कृति र फरक धारका मानिसबीच एक-अर्कामा एकता सम्भव भएको बताइन्।
कार्यशालामा सहभागी भारतका कलाकार प्रवीण कर्माकारले कार्यशालाले हाम्रो कला, संस्कृति र सांस्कृतिक सम्पदाको आदानप्रदान र थाहा पाउन सकिने बताए।
५ गतेसम्म जारी रहने 'कलाशाला' शीर्षक कार्यशालामा नेपालसहित भारत, ताइवान, बंगलादेश, इरान लागयत देशका १ सय भन्दा बढी कलाकारहरू सहभागी छन्। कलाकारहरूले कला मार्फत नै प्रकृति, धर्म, संस्कृति, समाज, मानव लगायतका विषयलाई उजागर गरेका छन्। कलालाई वाटर, एक्रेलिक, प्रिन्ट, पेन एण्ड इन्क, पेन्सिल, डिजिटल आर्ट, मूर्तिकलालगायतका मध्यममा प्रस्तुत गरिएका छन्।
३ गते बिहान ८ बजे कलाकारहरूसँग पाटन दरवार क्षेत्रमा भ्रमणपछि दिउँसो १ बजे नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आर्ट ग्यालरीमा जाने आकार सेन्टरकी अध्यक्ष तथा कलाकार अनिता भट्टराईले बताइन्। उनका अनुसार ४ गते भने कलाकारहरूले पशुपतिनाथ दर्शन र भ्रमण गर्नेछन्। ‘होटेल एयरपोर्ट’ मा कला प्रदर्शनी भने जारी नै रहनेछ। ४ गते नै समापन समारोहपछि ५ गते कलाकारहरूको बिदाइ हुनेछ।
कार्यशालामा सिर्जना भएका कलाकृति बिक्री गरेर आएको ५० प्रतिशत रकम ‘सफलता एचआईभी शिक्षा सदन’ लाई प्रदान गरिने भएको छ।
कलाको विस्तार र विकासका लागि सबैजना कलाकारहरु एकै हुनुपर्ने सन्देश लिएर कार्यशाला सुरू गरिएको भट्टराईले सुनाइन्। यसमा कलाका लागि चाहिने एकता र सिर्जनात्मक पक्षको विकास हुने उनको मत छ।
कार्यशालालाई ‘इन आर्ट वर्ल्ड’ को आयोजनामा आकार सेन्टर र 'नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज' ले संयोजन गरेको हो।