प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्म 'महाजात्रा' आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।
यो व्यवसायिक रूपमा सफल र समीक्षात्मक रूपमा राम्रो प्रतिक्रिया पाएको फिल्म 'जात्रा' को तेस्रो शृंखला हो। फिल्म क्षेत्रमा सफल फिल्मको नयाँ शृंखला निर्माण गर्ने प्रचलन छ।
'नाइँ नभन्नू ल', 'कबड्डी' 'छक्का पञ्जा' जस्ता फिल्महरू त्यसका उदाहरण हुन्। 'जात्रा' को शृंखला 'जात्रै जात्रा' हुँदै 'महाजात्रा' सम्म आइपुगेको हो।
फिल्मका निर्देशक भट्टराईले व्यवसायिक सफल भएकै भरमा सिक्वेल वा शृंखला बनाइहालौं भन्ने आफूलाई नलाग्ने बताए।
'जात्रै जात्रा' निर्माण भएको पाँच वर्षपछि 'महाजात्रा' निर्माण गरिएको बताउँदै उनले भने, 'पाँच वर्षको अन्तरमा पनि बनाउँछौं भन्ने थिएन। एउटा त्यस्तै खालको आइडिया आएपछि बनाएका हौं। यसपछि अगाडि अर्को शृंखला बनाउने भन्ने त अहिले सोचेकै छैनौं।'
यद्यपि भविष्यमा अर्को शृंखला बन्दैन भनेर अहिले ठोकुवा गर्न भने नसक्ने भट्टराईले बताए। 'भविष्यमा कुनै दिन त्यस्तै गज्जब खालको कथा, आइडिया आयो । जात्राकै पात्र, सेटिङ र कथा भन्ने तरिकालाई लिएर बनाऔं भन्ने भयो भने नबनाउने भन्ने पनि होइन। तर यो राम्रो भयो बनाइहालौं भन्ने खालको सोच चाहिँ छँदै छैन,' उनले भने।
२ घण्टा ३५ मिनेटको फिल्म 'महाजात्रा' लाई कमेडी, ड्रामा जनरामा राखिएको छ। फिल्ममा अघिल्लो शृंखलाकै कलाकारहरू विपीन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानिया, रविन्द्र झाका साथमा यसपटक हरिवंश आचार्यसमेत जोडिएका छन्। यो निर्माण घोषणादेखि नै प्रतीक्षित मानिएको फिल्म हो।