नेपालमा दोस्रो सातामा चलिरहेको फिल्म 'उपहार' ले विदेश प्रदर्शनको सुरूवात गरेको छ।
फिल्मको पहिलो शो अमेरिकाको कोलोराडोमा गरिएको छ। जहाँ दर्शकको 'ओभरफ्लो' भएको अभिनेत्री एवं प्रस्तुतकर्ता रेखा थापाले जानकारी दिइन्।
पहिलो शो हेर्न आएका ४० प्रतिशत दर्शक फर्काउनु परेको समेत उनले बताइन्। फिल्म हेर्न अभिनेता आयुष रिजाल पनि पुगेका थिए। रेखा र आयुषले 'हिफाजत', 'जलजला', 'सडक' लगायतका फिल्ममा सहकार्य गरेका थिए।
दर्शकको मागलाई मध्यनजर गर्दै कोलोराडोमा भोलि १९ मार्चमा अर्को शो पनि राखिएको कार्यकारी निर्माता बलराम शाही ठकुरीले जानकारी दिए। उनका अनुसार अमेरिकाका अन्य राज्यबाट पनि फिल्मको उच्च माग भइरहेको छ।
ज्ञानेन्द्र देउजा निर्देशित 'उपहार' मा रेखासँगै पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जनलगायतको अभिनय छ। सुलभ प्रतिक र समीक्षा देउजा फिल्मको निर्माता हुन्।