कमेडियन बिक्की अगरवालले नयाँ टेलिभिजन कमेडी शो ल्याउने भएका छन्।
यसअघि रोस्ट शो 'आम्मा कसम याँ दुख्छ' को दोस्रो सिजनलाई सम्पन्न गरेका बिक्कीले नयाँ शोको नाम 'कमेडी दरबार' राखेका छन्।
'यो पारिवारिक कमेडी शो हुनेछ' उनले सेतोपाटीसँग भने, 'आइरहेका भन्दा फरक फर्माटमा शो ल्याउनेछौं।' आफूहरूले यसअघि गरेका शोहरू भन्दा अझ 'लार्ज स्केल' को रूपमा 'कमेडी दरबार' लाई ल्याउने तयारी गरिएको बिक्कीले जानकारी दिए।
अहिले शोको सेट र कलाकारको टिम छनोट प्रक्रिया भइरहेको छ। शोमा केही कलाकारहरू अनुबन्धित भइसकेका छन्। विजय बराल, पवन खतिवडा, हिमेश पन्त, सुन्दर खनाल र विकास अर्याल शोमा अनुबन्धित भइसकेका छन्। अन्य केही कलाकार पनि फाइनल हुने चरणमा रहेको बिक्कीले बताए।
शोलाई बिक्की र श्रद्धा प्रसाईंको जोडीले निर्देशन गर्नेछन्। उनीहरूले केही वर्षको प्रेम सम्बन्धपछि गत वैशाखमा बिहे गरेका थिए।
'कमेडी दरबार' कहिलेदेखि प्रशारणमा आउने खुलाइएको छैन। प्राइम टेलिभिजनमार्फत शो प्रसारण हुने तय भइसकेको छ। बिक्कीले यसअघि 'आम्मा कसम याँ दुख्छ' को होस्टसँगै 'कमेडी क्लब विथ च्याम्पियन' को निर्देशन पनि गरेका थिए।