अभिनेता हरिवंश आचार्यले निर्देशक प्रदीप भट्टराई र षट्कोण आर्ट्सले निर्माण गर्ने फिल्मप्रति आफू ढुक्क भएर काम गर्न सक्ने बताएका छन्।
आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'महाजात्रा' मा भ्रष्ट नेताको भूमिका निर्वाह गरेका उनले नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक सन्देश पनि प्रवाह गर्ने बताए। सोमबार फिल्मको टिमले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभिनेता आचार्यले भने, 'नकारात्मक कार्य वा गतिविधि गर्न हुँदैन भन्ने यसले मनोरञ्जनात्मक शैलीमा ज्ञान समेत दिन्छ। यही कारण पनि म यस भूमिकालाई निर्वाह गर्न सहमत भएको हुँ।'
अहिले 'महाजात्रा' नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुन गइरहेको सन्दर्भ नेपाली फिल्मकै लागि गौरवको विषय बनेको उनले धारणा राखे। 'किनकी यो फिल्म भब्य रूपमा प्रदर्शन हुँदै गरेको आभाष सार्वजनिक पोस्टरले दिएको छ। अहिले नेपालीले मात्र हेरिरहेको फिल्म विस्तारै विदेशी दर्शकले पनि हेर्ने दिन आउनेछ। त्यो स्थानमा पुर्याउन महाजात्रा पनि एक खुड्किलो हो', उनले भने।
फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले 'महाजात्रा' मनोरञ्जनसँगै सन्देश पनि दिने हिसावले सम्पूर्ण वर्गका दर्शकलाई लक्षित गरेर तयार गरिएको बताए। 'हामीलाई आइडिया फुरेपछि त्यसलाई जात्राकै सेटअपमा तीन पात्रमार्फत व्यक्त गर्दा न्यायपूर्ण हुने लागेर महाजात्रा बनाएका हौं। यसमा राजनीति जोडिएको छ तर फिल्म त्यसमा केन्द्रित भने छैन', भट्टराईले भने।
आफूले भन्नुपर्ने राष्ट्रिय विषय भएकाले त्यसलाई यस फिल्ममार्फत व्यक्त गर्न लागेको बताउँदै निर्देशक भट्टराईले तीन पात्रबाहेक नयाँ कलाकार र परिवेश रहेको बताए।
उनले भने, 'यसमा फणिन्द्र, मुन्ना र जोयशसँगै नयाँ अनुहारले नयाँ परिवेशलाई भित्र्याएका छन्। फिल्म हेरेपछि उस्तै कथा वा परिवेशलाई लिएर उठिरहेको प्रश्नको जवाफ पाउनुहुनेछ भन्नेमा विश्वस्त छु।'
अभिनेतासँगै कार्यकारी निर्माता रहेका रवीन्द्रसिंह बानियाँले बजार र दर्शकलाई हेरेर फिल्म तयार गरिएको बताए।
'हामीले जात्रा शृंखलाको लिगेसीलाई बढाउने गरी महाजात्रा तयार गरेका छौं' उनले भने, 'यसमा हरिवंश दाइ जोडिनु भएकाले महाजात्रा भएको छ। फिल्मले सामाजिक दायित्व र दर्शकलाई मनोरञ्जन दिने दुवै दायित्वलाई निर्वाह गरेको छ।'
'जात्रा' मार्फत 'मुन्ना' को रूपमा दर्शकसँग साक्षात्कार गरेका रवीन्द्र झाले फिल्मको तेस्रो भाग 'महाजात्रा' रमाइलोसँगै सन्देशमूलक बनेको बताए।
'मुन्ना सोझो व्यक्ति हो। तर उसको जिम्मेवारीले उसलाई प्रलोभनमा पर्न उत्प्रेरित गर्छ। मधेशबाट काठमाडौं आएको मुन्नाको आवश्यकता बढ्दै गएपछि उसले साथीहरूसँग विविध काममा सहकार्य गरेको हो,' अभिनेता झाले आफ्नो पात्रबारे प्रष्टयाए। गम्भीर विषयवस्तुलाई निर्देशक भट्टराईले फिल्मी शैलीमा रमाइलो किसिमले प्रस्तुत गरेको उनले बताए।
उनले भने, 'यो फिल्ममा सबै वर्गले आफ्नो कथा भेट्नुहुनेछ। मधेशबाट आएको पात्रले कसरी काठमाडौंमा संघर्ष गरिरहेको छ भन्ने यसमा देख्न सकिन्छ।'
चैत ९ मा नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ। म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल फिल्मका निर्माता हुन्।