'एकोज इन द भ्याली सांगीतिक उत्सव' को आगामी संस्करण आउँदो शुक्रबार र शनिबार हुने भएको छ।
९ र १० गते क्रमशः काठमाडौंको हनुमानढोका र इतुं बहाः मा उत्सवको आठौं संस्करण हुन लागेको हो। उत्सवमा नेपाल लगायत ६ देशका झन्डै १५० कलाकारहरूले प्रस्तुति दिने जनाइएको छ।
सांगीतिक कार्यक्रम अलवा विविध अन्तरक्रियात्मक शैक्षिक कार्यक्रम, सिर्जनात्मक कार्यशालाहरू, टोलबजारको निर्देशित पैदलयात्रा, बच्चाहरूलाई विशेष ध्यानमा राखेर बाल साहित्य सम्बन्धि कार्यक्रमहरू र विभिन्न खेलहरू समावेश हुनेछन् । साथै स्थानीय खाना परिकारका स्टलहरू पनि रहनेछन्। ५ देखि ८ हजार दर्शकले उत्सवको अवलोकन गर्ने विश्वास आयोजकको छ।
उत्सवको सबै प्रस्तुतिहरू निःशुल्क हुनेछ। पहिलो दिन सुर सुधा ब्याण्डको प्रस्तुति रहने छ भने दोस्रो दिन जनकपुरबाट मिथिलेश्वर झिझिया समूहसँगै इतुं बहाः कै स्थानीय धिमेय् समूह, सियोम, भारतको मणिपुरबाट लोक संगीतमा आधारित प्रयोगात्मक ब्याण्ड, अबाइम- मोरिसियसको सांगीतिक कलाकारहरूको उपस्थिति रहने कार्यक्रमकी सह-निर्देशक रिजु तुलाधरले जानकारी दिइन्।
स्थानीय सार्वजनिक डबलीलाई सांगीतिक मञ्चका रूपमा पुनः प्रयोगमा ल्याउन तथा त्यस्ता सार्वजनिक स्थलहरूको अर्थ परिभाषित गर्न यो उत्सव हनुमान ढोकासहित इतुं बहाः को परिसरमा गर्न लागिएको आयोजकले जनाएको छ। पहिलो दिनको कार्यक्रम अपरान्ह ५ः ३० बजे र दोस्रो दिनको कार्यक्रम दिउँसो १ बजे सुरू हुनेछ।