आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको फिल्म 'पुजार सार्की' को छायांकन सकिएको छ।
दिनेश राउत निर्देशित फिल्मको छायांकन ४८ दिनमा सकिएको हो। मंगलबार 'दर्शन गरेँ हल्का निहुरेर' बोलको कौडा गीत खिचिएसँगै फिल्मको छायांकन सकिएको निर्देशक राउतले बताए।
छायांकनको अन्तिम दिन खिचिएको उक्त गीतमा आर्यन, प्रदीप र पलसँगै अभिनेत्रीहरू अन्जना बराइली र परीक्षा लिम्बुले नृत्य गरेका छन्। कास्कीको पोखरा नजिकै पर्ने कास्कीकोट गाउँ र आसपासमा छायांकन गरिएको यो फिल्मलाई विकास सुवेदीले लेखेका छन्।
फिल्मको निर्माता संगीतकार सुवास भुसाल हुन्। यस फिल्ममा भुसाल आफैले संगीत पनि तयार गरेका छन्। हर्क साउद, बि पाण्डे, दिनेश राउत र गणेश शाहीले फिल्मका गीत रचना गरेका छन्। प्रकाश सपूत, शान्तिश्री परियार र केतन क्षेत्रीले गीतमा स्वर दिएका छन्।
फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ। राजेश श्रेष्ठको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्मलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन्। किङडम नेटवर्कको प्रस्तुति रहेको 'पुजार सार्की' लाई आरआर फिल्मसले वितरण गर्नेछ।