प्रदीप भट्टराईको लेखन एवं निर्देशनमा तयार फिल्म 'महाजात्रा' को प्रिमियर गरिएको छ।
प्रदर्शनको तीन दिनअघि मंगलबार साँझ काठमाडाैंमा गरिएको प्रिमियरमा फिल्मको टिमसँगै अन्य थुप्रै कलाकारहरुको जमघट रह्यो। 'जात्रा' र 'जात्रै जात्रा' पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग 'महाजात्रा' लाई प्रिमियरमा हेरेका अधिकांश कलाकारले राम्रो प्रतिक्रिया दिएका छन्।
वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्म हेरिरहँदा समय बितेको पत्तै नपाएको बताए। उनले फिल्मको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र सन्देशको खुलेर तारिफ गरे। 'फिल्म राम्रो र रमाइलो बनेको छ। कुनै फिल्म राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ। यसले जात्राकै शैलीमा सन्देश दिन्छ। परिवार एकसाथ बसेर हेर्ने फिल्म बनेको छ,' श्रेष्ठले भने।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्देशक भट्टराईबाट अपेक्षा गरिने मनोरञ्जनात्मक र सन्देशमुलक फिल्म बनेको प्रतिक्रिया दिइन्। उनले भनिन्, 'फिल्म हेरिरहँदा एउटा मात्र पक्षलाई तारिफ गर्न सकिँदैन। किनकी समग्रमा नै फिल्म राम्रो बनेको छ।'
अभिनेत्री केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, गायक प्रकाश सपूत, हास्य कलाकार किरण केसी, जीतु नेपाल लगायतले पनि फिल्मको तारिफ गरे।
फिल्मका अभिनेता हरिवंश आचार्यले लेखिएको भन्दा प्रिमियरमा हेरेको फिल्म राम्रो बनेको प्रतिक्रिया दिए। 'मैले भन्दै आइरहेको कुरा नै आज फिल्म हेरेपछि सबैले भन्नुभयो। स्क्रिप्ट राम्रो भएपछि निर्देशक भट्टराईले मन हास्ने फिल्म बनाउछन् भन्नेमा आशावादी थिएँ, अहिले सबैले त्यही भन्दा डबल हर्षित छु,' आचार्यले भने।
'जात्रा' बाटै यो शृंखलामा जोडिएकी अभिनेत्री वर्षा राउतले सबैले दिएको प्रतिक्रियाले आफूलाई दंग बनाएको बताइन्। 'दर्शकसँग फिल्म हेर्न निकै उत्सुक छु,' उनले भनिन्।
अभिनेता विपीन कार्कीले 'जात्रा' र 'जात्रै जात्रा' भन्दा बढी मनोरञ्जन 'महाजात्रा' मा पाउने दाबी गरे। 'अघिल्ला शृंखला भन्दाबढी माया पाउनेमा विश्वस्त छु। मलाई हिरो बनाएको र चिनाएको फिल्म नै जात्रा शृंखला हो' उनले भने, 'यो मेरो करिअरलाई अगाडि बढाउने फिल्म हो। जात्रा झैँ महाजात्राले पनि मलाई नयाँ उचाइमा पुर्याउने छ।' लेखक तथा निर्देशक भट्टराईले फिल्मले प्राप्त गरिरहेको प्रतिक्रियाले डर भागेको बताए। 'हामीलाई मन परेर र राम्रो लागेर नै फिल्म बनाएका थियौं। हाम्रो प्रस्तुतीकरणमा प्रिमियरमा फरक ठाउँ र फरक वर्गका दर्शकले उत्कृष्ट छ भन्नु हुँदा हाम्रो टिम र समूहलाई विश्वास गरेर हलसम्म आउने दर्शकको पैसा र समयको सदुपयोग हुन्छ। जात्रामा हामीले तीन साथीको कथा भनेका थियौं भने यसपटक राष्ट्रिय विषयलाई पनि जोडेका छौं,' भट्टराईले भने ।
फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानिया, राजाराम पौडेल, अर्जुनजंग शाही, शिशिर वाङ्देल, मोहन निरौला, गौमाया गुरुङ, दिव्यदेव, पुश्कर गुरुङ, प्रकाश घिमिरे, अर्बिन खड्का, रजनी गुरुङ, सुमन कार्की, प्रविन खतिवडा, एवनराज उप्रेती, घनश्याम जोशी, रमा थपलिया, सिद्धिका चौहान, कायरा कार्कीलगायत कलाकारको अभिनय छ।
निर्माता म्याक्स दीपेश खत्रीका अनुसार चैत ९ मा नेपालसँगै विश्वभर 'महाजात्रा' प्रदर्शन हुनेछ। फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्। रविन्द्र सिंह बानिया फिल्मका कार्यकारी निर्माता हुन्।