चैत महिनाको पहिलो शुक्रबार कुनै नेपाली फिल्म रिलिज भएनन्। दोस्रो शुक्रबार अर्थात चैत ९ गते प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्म 'महाजात्रा' रिलिज हुँदैछ।
'जात्रा' को तेस्रो सिक्वेलका रूपमा निर्माण गरिएको फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानिया लगायतको अभिनय छ। मंगलबार गरिएको प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ।
१६ गतेदेखि फिल्म 'सलीना' प्रदर्शनमा आउने तयारीमा छ। यो फिल्मलाई नेपालको पहिलो एनिमेटेड फिल्म भनिएको छ। रेन मेकर एकेडेमीको प्रस्तुति रहेको फिल्मको निर्देशक तेजशराज जोशी हुन्। काल्पनिक राजकुमारीको कथामा बनेको फिल्म पाँच वर्ष लगाएर तयार पारिएको यसको निर्माण पक्षले जनाएको छ।
२३ गतेदेखि शोभित बस्नेतको निर्देशन रहेको फिल्म 'बद्री बहादुर' प्रदर्शनमा आउने तयारीमा छ। यो फिल्ममा जय किशन बस्नेत, राजीवजंग बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, धिरेन शाक्यलगायत कलाकारको अभिनय छ। यो फिल्मको ट्रेलर बिहीबार सार्वजनिक गर्ने तयारी छ।
महिनाको अन्तिम शुक्रबारका लागि भने दुइवटा फिल्मको प्रदर्शन तय छ। नयाँ वर्षको अवसर पारेर ३० गतेदेखि फिल्म 'द रेड सुटकेस' र 'डिग्री माइलाः एमए थर्ड क्लास' प्रदर्शन हुनेछन्।
फिडेल देवकोटाको लेखन एवं निर्देशन रहेको 'द रेड सुटकेस' मा सौगात मल्ल, प्रविन खतिवडा, विपीन कार्की, सृष्टि श्रेष्ठलगायत कलाकारको अभिनय छ। यो फिल्मले विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अवार्ड समेत जितेको छ।
त्यस्तै रामबाबु गुरुङको निर्देशन रहेको 'डिग्री माइला' मा दयाहाङ राई, आँचल शर्मा, माओत्से गुरुङ, विजय बराल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ। सफल फिल्म दिइरहेको बाँसुरी फिल्मसले 'डिग्री माइला' निर्माण गरेको हो।
यतिबेला हलमा 'अगस्त्य', 'उपहार' र 'रंगेली' लगायतका फिल्महरू प्रदर्शन भइरहेका छन्।