फागुन १८ गतेदेखि प्रदर्शनमा आएको फिल्म 'अगस्त्य: च्याप्टर १' को दोस्रो शृंखला निर्माणको तयारी थालिएको छ।
निर्माण टिमले फिल्म चौथो हप्तामा प्रदर्शनको खुशी साट्दै 'अगस्त्य: च्याप्टर २' निर्माणको तयारी भइरहेको जानकारी दिएको हो। बुधबार काठमाडौंमा फिल्मको टिमले आयोजना गरेको कार्यक्रममा निर्देशक सौरभ चौधरीले अहिलेको अवस्थामा आलोचना र तारिफका बाबजुद पनि फिल्म चौथो सातामा प्रवेश गर्नु खुशीको कुरा भएको बताए।
दर्शकको वर्ड अफ माउथले गर्दा फिल्म चौथो सातामा प्रदर्शन भइरहेको उनको धारणा थियो। 'दर्शकले देखाउनु भएको मायाप्रति हामी खुशी छौं' निर्देशक चौधरीले भने, 'फिल्ममा पक्कै पनि केही कमीकमजोरी छन्। त्यसलाई सुधार्दै जाने हामी प्रण गर्छौ।'
निर्माता अनिश तामाङले कुनै पनि परीक्षामा सय पूर्णाकंमा सय नै अंक आउनु असम्भव रहेको बताउदै आफ्नो फिल्मलाई दर्शकले दिएको अंकले खुशी भएको बताए। 'म र टिमका लागि यो ठूलो उपलब्धि हो। हाम्रो फिल्मले अहिले राम्रो पिकअप लिइरहेको छ। सकारात्मक र नकारात्मक दुवै समीक्षा आए पनि दर्शकको साथ पाइरहेका छौं,' तामाङले भने।
उनले निर्माणको तयारी भइरहेको 'अगस्त्यः च्याप्टर २' मा 'अगस्त्यः च्याप्टर १' मा भएका कमी कमजोरीलाई सुधार्दै अझ परिस्कृत कथा देखाइने बताए।
अभिनेता सौगात मल्लले फिल्म प्रमोसनका लागि मोफसलका थिएटर र दर्शकमाझ पुग्दा त्यहाँ पाएको साथ र सहयोगले अलग खुशी दिएको बताए। 'मोफसलका हलमा जाँदा दर्शकहरूले म र फिल्मलाई विश्वास गरेर हलमा आउनुभयो। उहाँहरू हाम्रो फिल्म हेर्न उत्साहित भएको पाएँ। कलाकार र मेकरका लागि यो भन्दा खुशीको कुरा अरू के नै हुनसक्छ र?', उनले भने ।
अभिनेत्री मलिका महतले दर्शकले फिल्मप्रति देखाएको माया र साथप्रति आभार व्यक्त गरिन्। आफूले चरित्रलाई न्याय दिन सकेको कुरा दर्शकबाट पाएको प्रतिक्रियाबाट प्रमाणित भएको उनले बताइन्।
अभिनेता प्रमोद अग्रहरीले दर्शकले दिएको मायाप्रति खुशी व्यक्त गरे। 'दर्शकले मेरो बोल्ने शैली, गेटअप र प्रस्तुतिलाई धेरै मन पराउनु भएको पाएँ। मेरा अन्य साथीहरूप्रति दर्शकको बुझाई पनि राम्रो देखें', उनले भने।
फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायत कलाकारको अभिनय छ।
प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता हुन्।