नेपाली फिल्म 'मोदीबेनी' को छायांकन सकिएको छ। बुधबार पर्वतको फलेवासमा कलाकारहरू वर्षा शिवाकोटी र प्रवीण खतिवडाको दृश्य खिच्दै फिल्मको छायांकन पूरा गरिएको हो।
दुई चरणमा भएको फिल्मको छायांकन ३१ दिनमा सकिएको निर्देशक शंकर कोइरालाले जानकारी दिए।
काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे र पर्वतको मोदी गाउँपालिकाको चित्रे, कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा फिल्मको छायांकन गरिएको हो।
फिल्मले पर्वतको मोदीबेनी क्षेत्रको कथा भन्ने निर्देशक कोइरालाले बताए। उनका अनुसार करिब पैंतिस–चालीस वर्ष पहिले र हालको कथालाई मिश्रण गरेर फिल्म बनेको छ।
अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले यस फिल्मबाट डेब्यू गरेका छन् भने अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गरेकी छिन्। निर्देशक कोइरालाले पनि यस फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन्।
फिल्ममा अमर प्रताप श्रेष्ठ, वर्षा शिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई लगायत कलाकारको अभिनय छ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका हुन्।
फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्माता छन्। उत्सव दाहालले फिल्मको छायांकन गरेका हुन्।