बाबु साहेब बलामीको निर्देशनमा फिल्म 'साम्राज्य' को निर्माण हुने भएको छ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच औपचारिक निर्माण घोषणा गरिएको फिल्म नेपाली र भोजपुरी कलाकारहरू लिएर निर्माण हुने भएको हो। फिल्ममा नेपाली अभिनेता प्रशान्त ताम्राकार, भोजपुरी अभिनेता कुन्दन भारद्धाजका साथमा देव सिंह, अनुजा लेप्चा लगायत कलाकारको अभिनय रहनेछ।
फिल्म नेपाली र हिन्दी भाषामा रिलिज गरिने निर्देशक बलामीले जानकारी दिए। उनको निर्देशनमा बनेको प्रदर्शनको तयारीमा रहेको फिल्म 'देववाणी' पनि दुई भाषामा नै तयार गरिएको छ।
'साम्राज्य' का लागि केही नेपाली र भारतीय कलाकार छनोटको चरणमा रहेको निर्माण टिमले जनाएको छ। अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा हिराबहादुर लेप्चा र पूर्णिमा लेप्चाको लगानी रहनेछ।
एक्सन जनरामा निर्माण हुने फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माता हिरा बहादुर लेप्चाले बताए। जेठ अन्तिमबाट छायांकनमा जाने फिल्मलाई हरिबहादुर घलेले खिच्नेछन्।