‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यसको तेस्रो भाग ‘महाजात्रा’ को सुखद् सुरूआत भएको छ।
चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ। प्रदर्शनको पहिलो दिन नेपालका अधिकांस शो हाउसफूल भएका छन् भने विदेशमा पनि सोही अवस्था रहेको निर्माण कम्पनीले बताएको छ। अस्ट्रेलियाको सिड्नी, होवर्ट लगायतका केही सहरमा ‘सोल्ड आउट’ भएको कम्पनीले बताएको छ।
फिल्म हेर्न हल पुगेका दर्शकले ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट भनेको ‘महाजात्रा’ लाई पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहले पनि हेरेकी छन्। शुक्रबार बेलुकी काठमाडौंस्थित सिभिल मलमा हिमानी ट्रष्टद्वारा आयोजित शोमा सहभागी हुँदै उनले फिल्म हेरेकी हुन्।
फिल्म हेरेपछि उनले ‘महाजात्रा’ टिमसँग भेटघाट गर्दै बधाई दिइन्। पूर्वरानी शाहले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्,‘फिल्म रमाइलो बनेको छ। एकदम मनपर्यो। हामी सबैले रमाइलो गर्यौं।’
शुक्रबार हलमा फिल्म हेरिरहेका दर्शकसँग साक्षात्कार गर्न निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत लगायत पुगेका थिए।
दर्शकले दिएको प्रतिक्रियाले आफूहरूको मेहनत सफल भएको अभिनेता आचार्यले बताए।
‘हामी शनिबार पनि दर्शकसँग भेटिरहेका छौं। प्रिमियरझैं प्रतिक्रिया प्राप्त भइरहेका छन्। मनोरञ्जनसँगै हामीले दिएको सन्देशलाई दर्शकले ग्रहण गर्नुभएको छ। हामी कृतज्ञ छौं,’ अभिनेता आचार्यले भने।
निर्देशक भट्टराईले पहिलोदिन प्राप्त गरेको मायालाई शब्दमा व्यक्त गर्न नसकिने बताए।
‘महाजात्रा नेपाल मात्र नभई विदेशमा पनि हाउसफूल भइरहेको छ। हामीलाई गर्नुभएको माया र विश्वासलाई हामीले जति धन्यवाद दिए पनि अपुग हुन्छ। हामीलाई दर्शकको विश्वासमा अडिग रहने चुनौती थियो। आज विश्वभरबाट प्राप्त प्रतिक्रियाले हाम्रो टिम नै उत्साहित छ,’ निर्देशक भट्टराईले भने।
कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले काठमाडौं मात्र नभई दर्शकसँग भेटघाट गर्न मोफसल पनि पुग्ने जानकारी दिए।
‘हामीले पहिलो चरणमा काठमाडौंमा प्रचारप्रसार गरिरहेका छौं। हामी छिट्टै नै मोफसलका दर्शकसँग पनि भेटघाट गर्दैछौं,’ अभिनेता बानियाँले भने।
अभिनेता विपिन कार्कीले दर्शकले फिल्मका पात्रको सुखदुःखलाई पर्दा बाहिर पनि महसुस गरेको बताए। उनले भने,‘मसँगै जोएश र मुन्नाको सुखदुःखमा दर्शक पनि उस्तै भावमा पाएँ।