उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फिल्म 'महाजात्रा' हेरेका छन्।
आइतबार बेलुका पत्नी निकिता पौडेलका साथ हल पुगेका लामिछानेले दर्शकसँग बसेर फिल्म हेरेका हुन्। 'महाजात्रा' को चौतर्फी चर्चासँगै आफू यस शृंखलाको नियमित दर्शक भएकाले हलसम्म आएको गृहमन्त्री लामिछानेले बताए। उनले 'जात्रा' को यसअघिका दुई फिल्म नै आफूलाई मन परेको बताए।
'म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपीन र दुई रवीन्द्रको अभिनयको फ्यान नै हो। सोही कारण पनि मैले फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ', लामिछानेले भने।
फिल्मको विषय प्रहरी र अनुसन्धानसँग जोडिएको भएकाले आफू आकर्षित भएको बताउँदै लामिछानेले राजनीतिज्ञका रूपमा फिल्म हेरेपछि झनै ऊर्जा थपिएको बताए।
'फिल्ममा मनोरन्जनसँगै राजनीतिका विषय र देशको इस्युलाई समेटिएको छ। मैले त्यो हेरिरहँदा झनै ऊर्जा महसुस गरे' उनले भने, 'म र मेरो पुस्ताका नेताको उदय नै त्यसलाई कम गर्न भएको हो।'
गत शुक्रबारदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्मले राम्रो व्यापार गरिरहेको छ।
निर्माण टिमले हलमा पुगेर दर्शकसँग प्रतिक्रिया पनि लिइरहेको छ। कार्यकारी निर्माता एवं अभिनेता रवीन्द्रसिंह बानियाँले दर्शकले पहिलो हाफमा रहेको कमेडी र दोस्रो हाफमा रहेको राजनीतिक विषयलाई बढी रूचाएको प्रतिक्रिया पाएको बताए।
'हाम्रो फिल्मलाई देशमात्र नभइ विदेशमा पनि दर्शकले उत्तिकै माया गर्नुभएको छ। कतिपयले 'महाजात्रा' लाई शृंखलाकै उत्कृष्ट भनेर प्रतिक्रिया दिनुभएको छ' बानियाँले भने, 'दर्शकसँगै देशका कलाप्रेमी नेताबाट माया पाउँदा हामी कृतज्ञ छौं।' उनका अनुसार फिल्मले तीन दिनमा ४ करोड २६ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ।
पहिलो दिन १ करोड २३ लाख, दोस्रो दिन १ करोड ८२ लाख र तेस्रो दिन १ करोड २० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको हो।
प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायत कलाकारको अभिनय छ। म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल फिल्मको निर्माता हुन्।