बौद्धस्थित लिच्छवि हाउसमा ७ दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरू भएको छ।
चैत ११ गतेदेखि सुरू भएको प्रदर्शनीमा विभिन्न देशका ८ कलाकारले 'अनिच्च' शब्दको सार बुझाउन खोजेका छन्।
बौद्ध दर्शनमा रहेको 'अनिच्च' शब्दको अर्थ हुन्छ– अस्थायी जीवनको हिस्सा। प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनित्यको यो भाव प्रस्तुत गर्दैछन्।
क्यानडेली कलाकार एमिली एभरी योशिको क्रोद्वारा क्युरेट गरिएको प्रदर्शनीमा स्थानीय र अन्तर्राष्ट्रिय कलाकारको जमघट चलिरहेको छ।
विश्वचर्चित फिल्म निर्देशक, लेखक तथा बौद्ध गुरुङ खिन्से नोर्बुले कला प्रदर्शनीको शुभारम्भ गरेका थिए।
चैत १७ गतेसम्म चल्ने प्रदर्शनीमा फोटोग्राफी, चित्रकला, भिडिओ र अन्तक्रियात्मक सत्र समावेश छन्। क्रो प्रदर्शनीमा प्राप्त प्रतिक्रियालाई लिएर उत्साहित रहेको बताइन्। 'प्रियजनको मृत्यु, ऋतुहरूमा परिवर्तन, छिनछिनमै बदलिइरहने आफ्नै मनस्थिती, विश्वव्यापी जलवायु परिवर्तन आदि अनित्यका बलिया विम्व हुन्' उनले भनिन्, 'मलाई आशा छ यो प्रदर्शनीले विविध कलाको समिश्रणमार्फत जीवन र जगतको जटिलतालाई सरल अभिव्यक्तिमा बताइदिनेछ।'
लिच्छवि हाउसकी कार्यक्रम प्रमुख टारीरत्न प्रधानले सबै कलाकारको अनुपम कलाशैली देखाउन पाउँदा आफूहरू उत्साहित रहेको बताइन्।
फ्रान्सका चर्वेई साई, बेलायतका लुसिन्डा कामेन, पूर्वबाट ड्यालाइस्ट र भ्रमादेव पुष्पा, भुटानका कर्मा वाङ्चुक, भारतकी गौरी गिल र नेपालकी महिमा सिंहले कला प्रस्तुति दिइरहेका छन्।