'नेपाल ग्रामीण चलचित्र महोत्सव' को तेस्रो संस्करण रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा हुने भएको छ।
आयोजक सेलिब्रेटी नेपालले बुधबार रामेछाप सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गर्दै वैशाख ६ देखि ८ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिएको हो।
प्रत्येक वर्ष फरक-फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, शर्ट फिल्म, डकुमेन्ट्री र कल्चर फिल्महरू प्रदर्शन गर्ने गरिनेछ। साथै नेपाली सिनेमा पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रमहरू पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए।
महोत्सव संयोजकमा निर्देशक कमल एक्चै मगर छन्। उनले आफ्नै गृह जिल्लामा फरक खालको महोत्सव गर्न पाँउदा खुशी लागेको बताए।
महोत्सवमा करिव २ दर्जन फिल्म देखाउने र फिल्मका सम्बन्धित व्यक्तिहरूसंग गाउँले दर्शकले अन्तरक्रिया पनि गर्नेछन्। रामेछाप जिल्लामा फिल्म हल समेत नभएकाले फिल्म हेर्न रूचि राख्ने दर्शकहरूलाई महोत्सवले पूर्ण मनोरञ्जन दिनुका साथै फिल्म क्षेत्रको प्रचार प्रसारमा समेत भूमिका खेल्ने आयोजकको विश्वास छ। महोत्सवमा करिब ३ हजार दर्शक उपस्थित गराउने लक्ष्य आयोजकको छ।