अस्कर कलेजले देशव्यापी 'सिनेमा साक्षरता अभियान' सञ्चालन गर्ने भएको छ।
दुई दशकदेखि नेपालमा सिनेमा शिक्षा प्रदान गरिरहेको कलेजले पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका प्रमुख १० सहरमा यो अभियान सञ्चालन गर्न लागेको हो। चैत १४ देखि २५ गतेसम्म सिनेमा साक्षरता अभियान सञ्चालन गर्न लागिएको अस्कर कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पूर्वको बिर्तामोडबाट सुरू हुने अभियान विराटनगर, इटहरी, जनकपुर, हेटौंडा, चितवन, बुटवल, दाङ, धनगढी हुँदै पोखरामा आएर समापन गरिनेछ। नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरूमा सिनेमाप्रति रूचि जगाउने उद्धेश्यले यो अभियान गर्न लागिएको कलेजका प्राध्यापक रामराजा दाहालले बताए। सिनेमाका धेरै गतिविधि काठमाडौं केन्द्रित भएकोले काठमाडौं बाहिर यस्ता कार्यक्रम गरिराख्नुपर्ने खाँचो महसुस गरेर यो अभियान सञ्चालन गरिएको समेत उनले बताए।
विशेष गरी प्लस टु सकेर ब्याचलर तहमा के पढ्ने भन्ने सोचिरहेका विद्यार्थीहरूलाई लक्षित गरिएको यो अभियानमा हरेक सहरमा एक दिने कार्यशालामार्फत सिनेमा शिक्षाका विविध पक्ष समेटिनेछन्।
कार्यशालामा सिनेमासम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यासहरू, सिनेमा इतिहास, चरित्रबारे जानकारी दिँदै सुरू हुने बताइएको छ। कार्यशालामा वास्तविक जीवनमा देखिएका चरित्रहरूको उदाहरण दिँदै घटना परिघटना जोड्दै सहभागी विद्यार्थीहरूले तत्कालै एउटा कथालाई कसरी पटकथामा रूपान्तरण गर्ने कुरा पनि सिकाइने छन्। कागजमा लेखिएका कुरालाई कसरी श्रव्यदृश्यमा रूपान्तरण गर्ने भनेर त्यहीँ प्रयोगात्मक अभ्यास पनि गरिने प्राध्यापक दाहालले बताए। कार्यक्रममा कलेजबाट दीक्षित र पढिरहेका विद्यार्थी गरी दुई जनाको फिल्मसमेत देखाइने छ।