नेपालको पहिलो एनिमेटेड फिल्म 'सलीना: योद्धा राजकुमारी' को प्रदर्शन रोकिएको छ।
भोलि शुक्रबारदेखि प्रदर्शन हुने भनिएको फिल्मको प्रदर्शन अन्तिम समयमा आएर स्थगित गरिएको हो। हलले कम शो दिएपछि प्रदर्शन रोकेको निर्देशक तेजसराज जोशीले बताए।
'हलले हामीलाई बिहानको शो दिएको छ। त्यस समयमा कलेजका विद्यार्थीहरू पढ्न जान्छन्। हलले शोको समय नमिलाएपछि हामीले फिल्म प्रदर्शन स्थगित गरेका हौं। कहिले चलाउने भनेर वितरकसँग छलफल गरेपछि तय गर्छौ,' उनले भने।
सलीना रेनमेकर एनिमेसन एकेडेमीले निर्माण गरेको फिल्म काल्पनिक कथामा बनेको छ। तेजसराज जोशीले निर्देशन गरेको फिल्ममा ग्राफिक कलाकार सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर छन्।
तेजसराज जोशी र श्रुति श्रेष्ठले निर्माण गरेको फिल्मलाई शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका हुन्।