प्रदिप भट्टराई निर्देशित फिल्म 'महाजात्रा' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। आज शुक्रबारदेखि फिल्म दोस्रो हप्तामा प्रवेश गरेकाे छ।
फिल्मले पहिलो हप्ता ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको निर्माण कम्पनी षट्कोण आर्टसले जनाएको छ। देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले दोस्रो हप्तामा पनि राम्रो शो पाएको छ।
प्राप्त शो र दर्शकको आकर्षणका अनुसार फिल्मले यस हप्तामा पनि राम्रो व्यापार गर्ने विश्वास निर्माण पक्षको छ। लेखक एवं निर्देशक प्रदीप भट्टराईले हलहरूमा दर्शकसँग साक्षात्कार गर्दा पाएको प्रतिक्रियाले हौसला मिलेको बताए।
मध्यान्तर अगाडि मनोरञ्जन लिनुका साथै मध्यान्तरपछि देखाइएको देशको समसामयिक विषयलाई दर्शकले रूचाएको पाएको उनले बताए। भट्टराईले भने, 'हामीले मनोरञ्जनसँगै दिन खोजेको सन्देशलाई दर्शकले ग्रहण गर्नुभएको छ।'
कार्यकारी निर्माता एवं अभिनेता रविन्द्रसिंह बानियाँले हल भ्रमणका क्रममा दर्शक बनेर परिवार नै आएको बताए। 'दर्शकहरू हलबाट फर्किदै गर्दा पनि समय र पैसाको सदुपयोग भएको भन्दै खुसी हुनुहुन्थ्यो, त्यो सन्तुष्टी नै हाम्रो सफलता हो,' अभिनेता बानियाँले भने।
नेपालमा मात्र नभई फिल्मले विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ। फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्यदेव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरूङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले फिल्मलाई निर्माण गरेका हुन्।